बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु

बुटवल/बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् ।दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।