असोज दोस्रो साता नयाँगाउँमा एमेच्युअर फुटबल, उपाधि राशी ६० हजार

पोखरा/आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा १५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उनले नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन्, उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गर्न लागेको हुँ,’ उनले भने ।

उनका अनुसार सो प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन खेलेका खेलाडीहरु सहभागि हुन पाउने छैनन् ।उक्त प्रतियोगिताले फुटबलको विकासमासमेत टेवा पुर्याउने विश्वास छ । पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उदीयमान खेलाडीलाई नगद रु ५ हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ प्रतियोगितामा सहभागित टिममध्ये एक टिमलाई अनुशासित टिमका रुपमा नगद रु ५ हजार प्रदान गरिने विकास गुरुङले बताए ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८०६५०४५९९) बताइएको छ ।
उक्त प्रतियोगिताका खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।