भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो

चितवन/भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा गरेको छ। बिहीबार र शुक्रबार गरी २ दिनसम्म चलेको समिक्षा बैठकमा २९ वटा वडा तथा महाशाखा गरी ३९ वटा प्रस्तुतीकरण गरिएको थियो ।
समिक्षामा गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीहरूको समिक्षा गरी चालु आर्थिक वर्षमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति पनि लिइएको छ ।
समिक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुती राखेका थिए।
समिक्षामा महाशाखा प्रमुखहरुले महाशाखा र अन्तर्गतका शाखाहरूले गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए । योजनाहरूको छनोट समयमै मुल्याङ्कन र अनुगमन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढिकरण गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा, सुशासन र सेवा प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ ।
वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्रमा आर्थिक वर्ष ०८०/०८१ उपलब्धी सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भरतपुरको सहरी पूर्वाधारमा उल्लेखनीय विकास भएपनि अन्य क्षेत्रमा उकृष्ट नतिजा हासिल गर्न नसकिएको बताउनुभयो ।
प्रमुख दाहालले आर्थिक वर्ष ०८०/०८१ को समिक्षाबाट निस्किएको समस्या, चुनौतीलाई अनुसन्धान, समस्याको निवारणका उपायहरु सुक्ष्म रुपले खोजी गरी चालु आर्थिक वर्षका कार्यलाई अगाडि बढाउन सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रवाह र सुशासन कार्य गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडि बढाउन आग्रह पनि गर्नुभयो ।
गत आर्थिक वर्षमा महानगरपालिकाले पूँजीगत तर्फ ५६ प्रतिशत मात्र खर्च गरेको छ भने चालु तर्फ ८६ प्रतिशत खर्च भएको छ ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रगति समिक्षमा देखिएका केही सामाजिक विषयलाई समधान गर्न मिहिन ढङ्गबाट अगाडि बढाउनुपर्ने औल्याउनुभयो ।
वार्षिक समिक्षा बैठकमा वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।