Breaking News

प्रधान सेनापतिको कार्यभार बलाधिकृत रथी सिग्देललाई

काठमाडौं/प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज जंगी अड्डामा आयोजित एक समारोहकाबिच सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को १४ गतेको निर्णय बमोजिम राष्ट्रपतिबाट २०८१ श्रावण २५ गतेको मितिबाट कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी प्राप्त गर्नु भएका बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गर्नु भएको छ ।

गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गर्नु भएका प्रधान सेनापति महारथी शर्मा २०८१ भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । नेपाली सेनाको प्रचलित परम्परा अनुसार उहाँ मिति २०८१ श्रावण २५ गतेबाट बिदामा बस्दै हुनुहुन्छ ।

नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरू, रक्षा सचिव लगायत रथीबृन्द, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकलदर्जाको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति महारथी श्री शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

साथै, उहाँले रथी श्री सिग्देललाई सफल कार्यकालका लागि शुभकामना सहित बधाई समेत दिनु भयो । साथै, प्रधान सेनापतिद्वारा आजै वीरगति प्राप्त सकलदर्जाको सम्मानमा वीर स्मारक, छाउनी तथा सैनिक मञ्च, टुँडिखेलमा श्रद्धाञ्जली समेत अर्पण गर्नु भएको थियो ।

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् ।

sahid diwas