एक्सपर्ट एएभिसले मनायो २१औं वार्षिकोत्सव !

चितवन/एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ । आज बिहीबार भरतपुरमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले वार्षिकोत्सव मनाएको हो ।

एक्सपर्टले वार्षिकोत्सवको अवसरमा बिबिध प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरिएको छ । साथै सहयोगी संस्थाहरुलाई सम्मान समेत गरिएको छ । अन्तरविद्यालय÷कलेज फुटसलमा एपेक्स एकेडेमी भरतपुर प्रथम भएको थियो भने नारायणी नमुना माविले दोस्रो स्थान हाँसील गरेको थियो । यसैगरि फोटो प्रतियोगितामा विजेता बनेका नारायणी नमुना माविका उमेश महतोलाई नेपालका पूर्व क्रिकेट टिमका कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्काको हस्ताक्षरसहितको ब्याट प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारी, हिसानका केन्द्रीय सदस्य भुपेन्द्र धिताल, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

सो क्रममा बोल्दै प्रमुख अतिथि उप–प्रमुख अधिकारीले विदेश जान विद्यार्थीहरुलाई रोक्न नसक्नु सबै तहका सरकारकै कमजोरी रहेको भन्दै सकेसम्म युवाहरुलाई स्वदेशमै राख्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।