बाङ्ग्लादेशमा ‘अल्पसङ्ख्यक हिन्दूहरू निसानामा’ लुटपाट र हिंसामा बढोत्तरी !

बिबिसी/ढाका/बाङ्ग्लादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देशबाट पलायन भएको केही घण्टापछि राजधानी ढाकामा एउटा विकास संस्थाका कर्मचारीलाई उनकी एक आफन्तले अत्तालिएर फोन गरिन्।

अभिरूप सरकार बाङ्ग्लादेशी हिन्दू हुन्। बाङ्ग्लादेशको ९० प्रतिशत जनसङ्ख्या मुसलमानहरूको छ। सरकारकी ती नातेदार एकल महिला हुन्। उनी ढाकाबाट झन्डै १०० किलोमिटर उत्तरमा पर्ने नेत्रोकोनास्थित मिश्रित बस्तीमा एउटा सगोलको परिवारमा बस्छिन्।

“उनी अत्तालिएकी थिइन्। उनले आफ्नो घरलाई भिडले आक्रमण गरेको र लुटपाट गरेको बताइन्,” सामाजिक संरक्षणविज्ञ सरकारले ढाकाबाट टेलिफोनमा भने।
उनकी आफन्तले उनलाई बताएअनुसार झन्डै १०० जना मानिस हातमा लट्ठी लिएर घरभित्र प्रवेश गरेका थिए। उनीहरूले फर्निचर, टेलिभिजन, बाथरुम र ढोकाहरू तोडफोड गरे। बाहिरिनुअघि उनीहरूले सबै नगद र गरगहना पनि लिएर गए। तर घरमा बसिरहेका १८ जनालाई भने उनीहरूले केही गरेनन्। उक्त घरमा सात परिवारका झन्डै छ बालबालिका पनि त्यहाँ थिए।

“तिमीहरू अवामी लीगका सन्तान हौ। तिमीहरूकै कारण यो देश नराम्रो अवस्थामा छ। तिमीहरूले देश छाड्नुपर्छ,” लुटपाट गरेर हिँड्नुअघि आक्रमणकारीहरूले भनेका थिए।

लक्षित आक्रमण भएपछि बाङ्ग्लादेशमा हिन्दूहरू भयभीत बारम्बार आक्रमण भएपछि चिन्ता
सरकारले उक्त घटनाबाट आफू स्तब्ध भएको भए पनि छक्क भने नपरेको बताए। उनका अनुसार बाङ्ग्लादेशका हिन्दू अल्पसङ्ख्यकहरूलाई धर्मनिरपेक्षताको पक्षमा उभिएकी शेख हसिनाको दल अवामी लीगको समर्थक मान्ने गरिन्छ।

बाङ्ग्लादेश इस्लामिक गणतन्त्र हो। विपरीत आस्था भएका मानिसहरू बेलाबेलामा अतिवादीहरूको आक्रमणमा पर्ने गरेका छन्।

शेख हसिना देशबाट भागेपछि सामाजिक सञ्जालमा हिन्दूहरूको धनसम्पत्ति र मन्दिरहरूमा आक्रमण गरिएका कैयौँ विवरणहरू राखिएका छन्।

भारतका विदेशमन्त्री एस जयशङ्करले मङ्गलवार संसद्‌मा भने, “सबैभन्दा विशेष चिन्ताको विषय के हो भने अल्पसङ्ख्यक, उनीहरूको व्यवसाय र मन्दिरमा पनि एकभन्दा बढी ठाउँहरूमा आक्रमण गरिएको छ। कुन स्तरमा यस्तो भएको छ भन्ने स्पष्ट छैन।”

तर मुस्लिम युवाहरूका समूहहरूले पनि हिन्दूका घर र मन्दिरहरूमा थप क्षति हुन नदिन सुरक्षा दिएका थिए।

“बाङ्ग्लादेशी हिन्दूहरू सजिलै निसानामा पर्छन्,” सरकारले भने, “प्रत्येक पटक अवामी लीगको शक्ति गुम्दा हिन्दूहरूमाथि आक्रमण भएको छ।”

सरकारको आफन्तको घरमा आक्रमण भएको यो पहिलो पटक होइन। सन् १९९२ मा हिन्दूहरूको एउटा भिडले अयोध्यास्थित बाबरी मस्जिद भत्काइदिएपछि पनि बाङ्ग्लादेशका अल्पसङ्ख्यकहरू निसानामा परेका थिए। सरकारकी दिदीको घरमा भिडले लुटपाट गरेको थियो।

त्यसयताका दशकमा हिन्दूहरूमाथि कैयौँ धार्मिक आक्रमणहरू भएका छन्। एउटा बाङ्ग्लादेशी मानवाधिकार समूह ‘ऐन ओ सलिश केन्द्र’ले सन् २०१३ को ज्यानुअरीदेखि सन् २०२१ को सेप्टेम्बरसम्म हिन्दू समुदायमाथि कम्तीमा ३,६७९ पटक आक्रमण भएको जनाएको छ। त्यसमा तोडफोड, आगजनी र योजनाबद्ध हिंसा पर्छन्।
एउटा भिड अभिरूप सरकार बस्ने भवनमा प्रवेश गर्न खोजेको भए पनि सफल भएको थिएन
सन् २०२१ मा सबैभन्दा हिन्दूहरूको सबभन्दै ठूलो चाड दुर्गापूजाअघि र पछि उनीहरूका निवास र मन्दिरमा विभिन्न समूहले आक्रमण गरेका थिए।

त्यस बेला अधिकारवादी संस्था एम्नेस्टी इन्टर्न्याश्नलले भनेको थियो, “बारम्बर हुने यस्तो व्यक्तिमाथिको आक्रमण, सामुदायिक हिंसा र अल्पसङ्ख्यकहरूका घर र पूजा गर्ने ठाउँमा वर्षौदेखि हुँदै आएका क्षति पुर्‍याउने गतिविधिले राज्य अल्पसङ्ख्यकहरूलाई सुरक्षा दिन विफल रहेको देखाउँछ।”
कस्ता घटनाहरू भइरहेका छन्
सोमवार अभिरूप सरकारको परिवारका अन्य सदस्यहरू पनि जोखिमको मुखमा परेका थिए।
ढाकाभन्दा १२० किलोमिटर पर किशोरगन्जमा उनका मातापिताको घर छ। तर त्यहाँ केही भएन। उनी भन्छन्, “हामी त्यो टोलको परिचित परिवार हौँ र सबैलाई चिन्छौँ।”

सरकारले एउटा स्थानीय विद्यालय सञ्चालन गर्ने उनकी आमालाई उनका व्यापारिक साझेदारले मानिसहरूले आक्रमण गर्ने घरहरूको सूची बनाइरहेको जानकारी दिएको सरकार बताउँछन्।

ती साझेदारले त्यसपछि भनेका थिए, “उक्त सूचीमा तपाईँको नाम छैन। तर कृपया सावधान रहनुहोस्।”

त्यसपछि परिवारलाई घरभित्र ताला लगाएर थुनेका सरकारका पिताले घरबाहिरको गेटमा एउटा सानो भिड जम्मा भइरहेको देखेका थिए।

“मेरो बुवाले कोही अगाडि आएर भिडलाई ‘यहाँ केही पनि नगर, यहाँ होइन’ भनेको सुन्नुभयो। त्यसपछि भीड तितरबितर भयो।”

तर केही पर किशोरगन्जको नोगुवा क्षेत्रमा हिन्दू परिवारका घरहरूमा लुटपाट भएका विवरण आएका छन्।

“मैले २० देखि २५ वटा घर आक्रमणमा परेको सुनेँ। मेरो हिन्दू साथीको सुन पसल फोडिएको र त्यहाँ देखाएर राखिएका गरगहनाहरू लुटियो। तर उनीहरूले सेफ फोर्न सकेनन्।”

केही ठाउँहरुमा मुसलमानहरूले हिन्दू मन्दिरको सुरक्षा गरेका छन्
ढाकाबाट २०० किलोमिटर उत्तर शेरपुर जिल्लामा अवस्थित सरकारको ससुराली घरमा पनि अवस्था राम्रो थिएन। त्यहाँ सोझै आक्रमण नभए पनि भिडले छिमेकीको घरमा लुटपाट गर्‍यो। तर सकारात्मक कुरा के थियो भने हिंसा फैलिएको खबर आएपछि स्थानीय मुसलमानहरूले हिन्दूका घर र मन्दिरबाहिर पहरा दिन सुरक्षा घेरा बनाएका थिए।

“यो बाङ्ग्लादेशमा सबैतिर छ। मुसलमानहरूले हिन्दूहरूको घर तथा भवनलाई पनि सुरक्षा दिएका छन्,” उनले भने।

सोमवार राति अँध्यारो बढ्दै जाँदा ढाकामा सरकार बस्ने दशतले भवनबाहिर भिड जम्मा हुन थाल्यो। त्यहाँ उनी आफ्नी पत्नी र बच्चाहरूसँग बस्छन्। त्यही भवनमा बस्ने आवामी लीगका नेतालाई खोज्दै उनीहरू त्यहाँ आएका हुन सक्ने उनको अनुमान छ।

“म छैटौँ तलामा भएको आफ्नो अपार्टमेन्टको बार्दलीमा बाहिर आएँ र भिडले भवनमा ढुङ्गा हानिरहेको देखेँ। उनीहरू भित्र प्रवेश गर्ने प्रयास गरिरहेका थिए। गेट राम्रोसँग बन्द गरिएको थियो। त्यही भएर उनीहरू भित्र छिर्न सकेनन्। पार्किङस्थलमा भएका कतिपय कार र केही झ्यालहरूमा क्षति पुगेको छ।”

नेत्रोकोनामा सरकारकी आफन्तले आफ्नो परिवार थप आक्रमण हुन सक्ने डरमा रहेको बताएकी छन्। उनले सेनामा रहेका आफ्ना साथीलाई टेलिफोन गरेर उक्त क्षेत्रमा नियमित सैनिक गस्तीका लागि अनुरोध गरेका छन्।

“यो डरलाग्दो समय हो। शान्ति र सुव्यवस्था छैन। र हामी फेरि निसानामा परिरहेका छौँ,” उनले भने। बिबिसीबाट साभार