‘जसलाई खुसी पार्न हसिनाले मलाई निकालिन् तिनैले उनलाई निकाले’

नयाँ दिल्ली/बंगलादेशमा जारी विरोध प्रदर्शनका बिचमा बंगलादेशी लेखिका र अभियन्ता तसलीमा नसरीनले पूर्वप्रधानमन्त्री शेख हसिनाको आलोचना गरेकी छिन् ।

माइक्रो ब्लगिङ वेबसाइट एक्समा तसलीमाले लेखेकी छिन्, ‘हसिनाले इस्लामी कट्टरपन्थीहरूलाई खुसी पार्न सन् १९९९ मा मलाई देशबाट बाहिर निकालिदिएकी थिइन् । मेरी आमा मृत्यु श्यामा हुँदा उनलाई हेर्न बंगलादेश गएकी थिएँ । तर मलाई देशभित्र छिर्न दिइएन । हसिनालाई देश छाड्न बाध्य पारिएको विद्यार्थी आन्दोलनमा पनि उनै इस्लामी कट्टरपन्थी सहभागी थिए ।’

बंगलादेशले प्रतिबन्ध लगाएपछि तसलीमा भारत आएर बस्न थालेकी थिइन् ।

अर्को पोष्टमा भने उनले आफ्नो अवस्थाको लागि हसिना स्वयं जिम्मेवार रहेको बताएकी छिन् । हसिनाले नै इस्लामी कट्टरपन्थीलाई फष्टाउने मौका दिएको र आफ्ना मानिसलाई भ्रष्टाचार गर्ने अवसर दिएको पनि उनले बताएकी छिन् ।

बंगलादेश अब पाकिस्तान जस्तै बन्न नहुने पनि उनले पोष्टमा लेखेकी छिन् । सेना सत्तामा आउनु नहुने र राजनीतिक दलहरूले लोकतन्त्र र धर्मनिरपेक्षता ल्याउनु पर्ने पनि उनले पोष्टमा लेखेकी छिन् ।