राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा वृक्षारोपण

/राष्ट्रिय युवा संघ नेपाल, चितवनको आयोजनामा कालिका नगरपालिका– ८ स्थित उदयपुर सामुदायिक वनमा रहेको टाँसी छ्योलिङ्ग गुम्बा परिसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले १ महिने वृक्षारोपण अभियान २०८१ चलाइरहेको छ ।

एक युवा पाँच बिरुवा भनेर अभियान चलाइएको छ । त्यही अभियान अन्तर्गत आज चितवनमा वृक्षारोपण गरिएको हो ।

आजको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै वृक्षारोपणको महत्व र यसको दीर्घकालीन फाइदाहरुका बारेमा चर्चा गरे । उनले ‘एक युवा, पाँच विरुवा’ भन्ने नारालाई आत्मसात गर्दै, युवाहरुले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा जोड दिए ।

राष्ट्रिय युवा संघ नेपाल, चितवनका अध्यक्ष झलकराज भट्टले १ हजार बिरुवा रोपिएको जानकारी दिए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा वन डिभिजन कार्यालयका प्रमुख थीर बहादुर कार्की, जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तामाङ लगायतको उपस्थिति रहेको थियो ।