७७ जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा!
कोदोलाई राष्ट्रिय बाली घोषणा गरेर प्रवर्द्धन गर्न किसानले माग गर्दै आएका छन् । साना किसानको संगठन राष्ट्रिय कृषक समूह महासंघले २०७८ देखि हरेक वर्ष साउन १५ मा कोदो दिवस मनाउँदै आएको छ । मंगलबार पनि महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) ले कोदो दिवस मनाएको थियो । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस दिवसलाई चासो नदिएको महासंघका संस्थापक अध्यक्षसमेत रहेका अधिकारीले बताए ।
जोशीका अनुसार सी–४ वर्गको बाली भएकाले कोदोलाई एकदमै कम पानी भए पनि हुन्छ, यसले हावाबाट पनि पानी लिन सक्छ । ‘उच्च पोषणीय मूल्य र विभिन्न जलवायुमै अनुकूल हुने क्षमताका कारण कोदो लोकप्रिय छ । माग बढ्दो छ तर उत्पादन बढाउन सकेका छैनौं,’ उनले भने, ‘स्वदेशमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा पनि माग बढेको छ ।
जिन बैंकका अनुसार कोदो सबैभन्दा बढी अफ्रिकामा उत्पादन हुन्छ । त्यसपछि भारत र चीनमा उत्पादन हुन्छ । भारतमा कोदो अनुसन्धान केन्द्र नै स्थापना भएको छ । ‘भारतको अनुसन्धान केन्द्रले विश्वभरकै अनुसन्धान गर्छ । भारतकै प्रस्ताव र सहयोगमा संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदोजन्य बाली वर्षका रूपमा घोषणा गर्यो,’ जोशीले भने, ‘त्यसपछि सबैतिर माग बढेको छ ।’
कोदोले खाद्य र औषधिको काम गर्ने हुँदा माग बढ्दै गएको हो । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले कोदो चामलको विकल्प हुन सक्ने बताए । कोदोमा फाइबर, मिनिरल्स बढी हुने भएकाले मधुमेहका बिरामीका लागि उत्तम भएको उनले जानकारी दिए । राष्ट्रिय बाली घोषणा भएपछि सबै हिसाबले तयार हुनुपर्ने उनको भनाइ छ । ‘तयारी भइराखेकै छ तर राष्ट्रिय बाली भन्न मिलेको छैन,’ केसीले भने ।
कृषिमन्त्री रामनाथ अधिकारीले कोदोलाई राष्ट्रिय बाली घोषणा गर्ने प्रक्रिया अगाडि बढेको बताए । उनले केही दिनमै कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको बताए । ‘कोदोको धेरै विविधता छ, अनाजसँगै औषधिजन्य गुण पनि छ,’ मन्त्री अधिकारीले भने, ‘राष्ट्रिय बाली घोषणा गर्ने तयारी हुँदै छ, अब छिट्टै मन्त्रिपरिषद्मा पेस गर्छु ।’
कोदो र कोदोजन्य परिकारको माग बढे पनि सरकारले उत्पादन बढाउन सकेको छैन । विगतको तथ्यांक हेर्दा कोदोको उत्पादन घट्दै गएको छ । कृषि मन्त्रालयका अनुसार २०७८/७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती र ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको थियो । २०७९/८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर पुगेको छ । उत्पादन पनि घटेर ३ लाख १० हजार ८ सय ४७ टनमा झरेको मन्त्रालयको तथ्यांक छ ।
‘उत्पादन घट्नुको प्रमुख कारण सरकारको लगानी नहुनु हो,’ जिन बैंकका प्रमुख जोशीले भने, ‘पछिल्लो समय रेस्टुराँ, होटलदेखि मिठाई पसलमा पनि कोदोको परिकार पाइन्छ, माग पनि बढ्दो छ । तर, उत्पादन बढाउन सकेका छैनौं ।’ कोदोको औसत उत्पादकत्व प्रतिहेक्टर १.२ टन मात्रै छ । मन्त्रालयका प्रवक्ता केसीले अन्य बालीलाई प्राथमिकता दिँदा कोदोको उत्पादन बढ्न नसकेको बताए । किसानले मूल्य पनि नपाएकाले उत्पादन बढ्न नसकेको उनको भनाइ छ । ‘विगतमा उत्पादन थियो, बजार थिएन । त्यही भएर किसानले कोदो लगाउन छाडे,’ उनले भने, ‘अहिले बजार छ तर उत्पादन छैन ।’
देशमा बर्सेनि करोडौंको कोदो आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७५ करोड ४४ लाख रुपैयाँ बराबरको कोदो र कोदोको बीउ आयात भएको छ । परिमाणका आधारमा १ करोड ५२ लाख ९२ हजार ८२० किलो कोदो र ५ हजार ३ सय ६३ किलो कोदोको बीउ आयात भएको छ । कोदोको निर्यात भने न्यून छ । तथ्यांकअनुसार गत वर्ष कोदो र कोदोको बीउ गरी ६१ लाख रुपैयाँको निर्यात भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ७३ करोड २० लाखको कोदो र बीउ आयात भएको थियो । ४२ लाख रुपैयाँको निर्यात भएको उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ मा ७० करोड २१ लाखको आयात भएको थियो । उक्त वर्ष निर्यात भने हुन सकेन । आर्थिक वर्ष २०७७/७८ मा ७८ करोड ३७ लाखको आयात र ९ लाख रुपैयाँको कोदो निर्यात भएको भन्सार विभागले जनाएको छ । आजको कान्तिपुर दैनिकबाट