इजरेल र हिज्बुल्लाहबीच लडाइँ चर्किने भय, के हो हिज्बुल्लाह ? कति शक्तिशाली छ ?

गोलन हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि हिज्बुल्लाह र इजरेलबीच तनाव चुलिएको र दुई पक्षबीच लडाइँ चर्किन सक्ने भय उत्पन्न भएको छ।

विगत नौ महिनादेखि इजरेल र हिज्बुल्लाहबीच गोली हानाहान भइरहेको भए पनि गोलान हाइट्समा शनिवार भएको आक्रमण इजरेलको उत्तरी क्षेत्रको सीमामा भएको सबैभन्दा घातक घटना हो।

गोलन हाइट्स इजरेल अधीनस्थ क्षेत्र हो। त्यहाँ हिज्बुल्लाहले रकेट प्रहार गरेको इजरेलको आरोप छ।

हिज्बुल्लाह के हो ?
हिज्बुल्लाह शिया मुस्लिमहरूको संस्था हो। यो राजनीतिक रूपमा प्रेरित छ र लेबननको सबैभन्दा शक्तिशाली सशस्त्र समूहको नियन्त्रणमा छ।

हिज्बुल्लाहको शाब्दिक अर्थ ईश्वरको दलु हो। यसको स्थापना सन् १९८० को दशकको आरम्भमा यो क्षेत्रको सबैभन्दा प्रभावशाली शिया शक्ति रहेको इरानले इजरेलविरुद्ध गरेको थियो।

त्यस बेला इजरेली सेनाले लेबननमा चलिरहेको गृहयुद्धको समयमा दक्षिणी लेबननलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

हिज्बुल्लाह सन् १९९२ यता निर्वाचनमा सहभागी हुँदै आएको छ। त्यहाँको राजनीतिमा उसको राम्रै प्रभाव छ।

यसको सैन्य एकाइले लेबननमा रहेका इजरेली र अमेरिकी फौजमाथि घातक आक्रमण गरेको थियो। सन् २००० मा लेबननबाट इजरेल बाहिरिँदा त्यसको प्रमुख श्रेय हिज्बुल्लाहले लियो।

त्यसयता हिज्बुल्लाहले दक्षिणी लेबननमा हजारौँ लडाकुहरू र विशाल क्षेप्यास्त्रसहितका अस्त्र तैनाथ गरेको छ। यसले विवादास्पद सीमा क्षेत्रमा इजरेलको उपस्थितिको विरोध गर्दै आएको छ।

यद्यपि हिज्बुल्लाहलाई पश्चिमा देशहरू, इजरेल, खाडी राष्ट्रहरू र अरब लीगले आतङ्कवादी संस्था भनेका छन्।

हिज्बुल्लाहले इजरेलको सीमाभित्र आक्रमण गरेपछि सन् २००६ मा दुई पक्षबीच पूर्ण स्तरको युद्ध चर्किएको थियो।

त्यसपछि इजरेली फौजले दक्षिणी लेबनन प्रवेश गरेर हिज्बुल्लाहबाट भएको चुनौती निस्तेज पार्ने प्रयास गर्‍यो।

तर हिज्बुल्लाह निस्तेज भएन। उसले लडाकुहरू थप्यो। उसले आधुनिक र राम्रा हतियारहरू जम्मा गरेको छ।

हिज्बुल्लाहका नेता हसन नस्रल्लाह को हुन् ?
शेख हसन नस्रल्लाह शिया धर्मगुरु हुन्। उनी सन् १९९२ देखि हिज्बुल्लाहको नेतृत्वमा छन्।

यो समूहलाई राजनीतिक र सैन्य शक्तिमा रूपान्तरण गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्

उनको इरान र त्यहाँका सर्वोच्च नेता अयालूल्लाह अली खामनेईसँग निकट सम्बन्ध छ।

सन् १९८१ मा इरानका पहिलो सर्वोच्च नेता अयातूल्लाह रूहोल्लाह खामनेईले लेबननका लागि आफ्ना प्रतिनिधि बनाएका नस्रल्लाह अहिलेसम्म पनि इरानी नेताका प्रतिनिधि छन्।

नस्रल्लाह कैयौँ वर्षदेखि सार्वजनिक रूपमा देखा परेका छैनन्। उनी भूमिगत रहनुको कारण चाहिँ इजरेलबाट हत्या हुन सक्ने डर रहेको बताइन्छ।

यद्यपि उनलाई हिज्बुल्लाहले निकै सम्मान गर्छ। उनी प्रत्येक साता टेलिभिजनमार्फत् भाषण गर्छन्।

हिज्बुल्लाह कति शक्तिशाली छ रु
हिज्बुल्लाह विश्वकै सबैभन्दा शक्तिशाली गैरसरकारी सैन्य शक्ति हो। यसलाई इरानले आर्थिक र हतियारलगायतका सहयोग उपलब्ध गराउँदै आएको छ।

शेख हसन नस्रल्लाहले हिज्बुल्लाहसँग एक लाख लडाकु रहेको दाबी गर्दै आएका छन्। यद्यपि स्वतन्त्र आकलनमा हिज्बुल्लाहसँग २०,००० देखि ५०,००० सम्म लडाकु रहेको बताइन्छ।

उनीहरूमध्ये कैयौँले राम्रो तालिम लिएका छन्। हिज्बुल्लाहका लडाकुहरूले सिरियाको गृहयुद्धबाट लडाइँको अनुभव पनि सँगालेका छन्।

हिज्बुल्लाहसँग झन्डै १,२०,००० देखि २००,००० रकेट क्षेप्यास्त्र रहेको सेन्टर फर स्ट्रटीजिक एन्ड इन्टर्न्याश्नल स्टडीज थिङ्कट्याङ्कको आकलन छ।

यसका अधिकांश अस्त्रहरू साना आकारका, जमिनदेखि जमिनमा प्रहार गर्ने किसिमका छन्।

तर यो समूहसँग विमानभेदक र पानीजहाजभेदक क्षेप्यास्त्रहरूका साथै इजरेलको भित्री भागसम्म प्रहार गर्न सकिने निर्देशित क्षेप्यास्त्रहरू पनि रहेको ठानिन्छ।

ती अस्त्रहरू गाजामा आधारित हमाससँग भएकाभन्दा पनि अत्याधुनिक हुन्।

के हिज्बुल्लाहले इजरेलसँग लडाइँ गर्ला ?
यसअघि पनि इजरेल र हिज्बुल्लाहबीच बेलाबेलामा सङ्घर्ष भएको छ। गत अक्टोबरमा हमासले इजरेलमा गरेको आक्रमणको समर्थनमा हिज्बुल्लाहले पनि इजरेली सैन्य क्षेत्रमा आक्रमण गरेको थियो।

त्यसयता उसले इजरेलको उत्तरी क्षेत्र र गोलन हाइट्समा रकेट प्रहार गर्नुका साथै इजरेली बख्तरबन्द गाडीमा क्षेप्यास्त्र प्रहार र विस्फोटक पदार्थ बोकेका ड्रोनहरूबाट सैन्य संरचनामा आक्रमण गर्दै आएको छ।

इजरेली डिफेन्स फोर्सेस ९आईडीएफ०ले पनि हवाई हमला, बख्तरबन्द गाडी र लेबननमा रहेका हिज्बुल्लाहका शिविरमा प्रहार गरेर प्रतिवाद गर्दै आएको छ।

संयुक्त राष्ट्रसङ्घले आक्रमणहरूका कारण लेबननमा ९०,००० मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ।

इजरेली आक्रमणमा करिब १०० जना मानिस र ३६६ जना हिज्बुल्लाह लडाकुहरू मारिएको राष्ट्रसङ्घको तथ्याङ्क छ।

अधिकारीहरूले हिज्बुल्लाहको आक्रमणमा इजरेलमा ६०,००० सर्वसाधारण मानिसले आफ्नो घर छोड्नुपरेको र १० सर्वसाधारण नागरिकसहित ३३ जना मारिएको बताएका छन्।

छिटपुट लडाइँ भइरहे पनि पर्यवेक्षकहरूले दुवै पक्ष पूर्ण स्तरको युद्धमा जान नचाहेको ठानेका छन्।

तर दुवै पक्षबाट घातक आक्रमणका घटनाहरू हुन सक्ने र घटना नियन्त्रण बाहिर जान सक्ने चिन्ता व्यक्त भएको छ। बीबीसी नेपालीसेवाबाट ।