सौर्य जहाज दुर्घटनास्थलबाट १८ जनाको शव निकालियो, क्याप्टेनको जिवितै उद्दार।
काठमाडौँ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आज केहिबेर अघि विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले पनि उद्धार जारी छ। प्रहरीका अनुसार अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् ।
उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक मनिषरत्न शाक्यको जिवितै उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । आज बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उडेनेबित्तिकै दुर्घटनामा परेको हो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको थियो । ठाकुरका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति नपुगेको उनीहरुको भनाई छ।