बीमा रकमको लोभमा आफ्नै सुनचाँदी पसल लुटपाटमा सम्लग्न सञ्चालकसहित ५ जना पक्राउ ।
काठमाडौं/चितवनको कालिकामा बीमा रकमको लोभमा आफ्नै सुनचाँदी पसल लुटपाटमा सम्लग्न एक सञ्चालकसहित ५ जना पक्राउ परेका छन।
१ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका-६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो ।
उक्त लुटपाटमा संलग्नताको आरोपमा प्रहरीले पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ ।
पक्राउ पर्ने विनोद उक्त सुनचाँदी पसलका सञ्चालक हुन् । उनले बीमाको रकम ठगी गर्ने मनसायले आफ्नो पसल आफैंले चोरी गर्न लगाएको देखिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भनेको छ । विजय उक्त सुनचाँदी पसलका म्यानेजर हुन् भने पसलमा १ असारमा पूर्णबहादुर र पवन पासवानले चोरी गरेका प्रहरीको भनाइ छ । अन्जना भने विनोदका साथी हुन् र उनले चोरी गरेका गहना लुकाउन सहयोग गरेको पाइएको प्रवक्ता बोगटीले जानकारी दिए ।
त्यस दिन मोटरसाइकल चढेर पसलमा आएका दुई जनाले खुकुरी र चक्कु देखाएर पसलभित्र राखिएको २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदी, हिराको विभिन्न डिजाइनका गहना चोरी गरेको थियो।