भारतका प्रधानमन्त्री मोदीले लिए शपथ !
नयाँदिल्ली/भारतको प्रधानमन्त्रीमा नियुक्त भएका भाजपा नेता नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् ।
लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो । उनलाई गत शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित दक्षिण एसिया विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू पुगेका छन् । मौरिससका राष्ट्रपति पनि शपथ समारोहमा उपस्थित छन् ।
सन् २०१४ २०१९ को चुनावमा भारतीय जनता पार्टीले एकल बहुमत हासिल गरेपछि मोदी दुई कार्यकाल यसअघि प्रधानमन्त्री भइसकेका छन् । यसपटक भाजपाले एकल बहुमत नल्याएपनि भाजपासहितका नेसलन डेमोक्रेटिक अलायन्सको बहुमतका आधारमा मोदीका लागि तेस्रोपटक प्रधानमन्त्री बन्ने ढोका खुलेको हो ।
मोदीले आफ्नो मन्त्रिपरिषद्का महत्त्वपूर्ण मन्त्रालयहरूमा पुरानै मन्त्रीहरूलाई दोहोर्याएका छन् । राजनाथ सिंह, अमित शाह, नीतिन गडकारी, जेपी नड्डा, शिवराजसिंह चौहान, निर्मला सितारमण, एस। जयशंकर, पीयूष गोयल लगायत मन्त्री बनेका छन् । मोदीले गठबन्धनका मुख्य घटक नीतिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडू नेतृत्वको तेलगु देशम पार्टीबाट पनि मन्त्री बनाएका छन् ।