तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बने नरेन्द्र मोदी
काठमाडौं/भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र दामोदरदास मोदी (नरेन्द्र मोदी) तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त भएका छन् ।एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता चुनिएका मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो ।
राष्ट्रपति भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै मोदीले आफूलाई राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिएका हुन्। ‘मलाई माननीय राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। मैले सम्भवत आइतबार प्रधानमन्त्रीको शपथ ग्रहण हुने जानकारी गराएको छु,’ मोदीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ। उनले शपथ ग्रहण गर्नुअघि मन्त्रीहरूको नामावली सूची राष्ट्रपतिकहाँ पेस गर्ने जानकारी पनि दिएका छन्।
मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए। उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा थिए। भाजपाले एक्लै बहुमत (२७२) सिट नजितेकोले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो। मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल (युनाइटेड) र १६ सिट जितेको तेलगु देसम पार्टी (टिडिपी) ले समर्थन गरेको छ।