त्रिभुज परियोजना ऐतिहासिक हुनेछ: प्रधानमन्त्री प्रचण्ड

पोखरा/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुज परियोजना मुलकका लागि महत्वपूर्ण र ऐतिहासिक हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) अध्यक्षसमेत रहेका उनले गण्डकी प्रदेशको बुधबार पार्टी प्रशिक्षणमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा गण्डकी प्रदेशलाई पर्यटनको हब बनाएर आर्थिक विकास गर्ने घोषणा गरिएको छ । पोखरा, भरतपुर र बुटवल जोडेर त्रिभुज परियोजना (ट्रयाङ्गल सर्किट) अघि सारिएको हो ।

उनले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीको विकासमा महत्वपूर्ण फड्को मार्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माण भएको जनाए । उनले आगामी बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवद्धएन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको दाबी गरे ।

उनले भरतपुर, बुटवल र पोखरालाई त्रिभुज परियोजना रूपमा विकास गरिने तथा म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा कस्तुरी–मृग लगायतका वन्यजन्तुपालन गर्ने व्यावसायिक फार्म स्थापना गर्ने गरी नयाँ सोचका साथ बजेट निर्माण गरिएको बताए ।

१२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको निर्माण सुरू गर्ने र यस परियोजनाले देशकै ऊर्जा क्षेत्रमा दीर्घकालीन फाइदा हुने उल्लेख गर्दै उनले ४२ मेगावाटको मोदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सुरू गर्ने पनि बताए ।

भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मुग्लिङ–पोखरा सडकखण्ड बिस्तार कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्ड डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने गरी सरकार अगाडि बढेको बताए ।

घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण गर्ने एवं बन्दीपुरको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्बद्र्धन गर्न विविध कार्यक्रम सञ्चालन गरिने प्रधानमन्त्रीको भनाइ थियो । उनले आदिकवि भानुभक्त आचार्य जन्मस्थल तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने बताए ।

मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिकस्थल दर्शन गर्ने व्यवस्था मिलाउने योजनासहित सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले गुरिल्ला ट्रेललगायत पर्यटकीय पूर्वाधारको विकास गर्ने, गण्डकीलाई पर्यटनको हव बनाउने बताए ।

गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण, मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार, टाकुरा पर्यटकीय गन्तव्यको विकासजस्ता कार्यक्रमले यस क्षेत्रमा रोजगारी सिर्जना गर्नुका सार्थ आयआर्जनमा सहयोग गर्ने उनको विश्वास छ ।

पोखरामा एकीकृत सहरी पूर्वाधार विकास, नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणलाई प्राथमिकता, गोरखकाली रबर उद्योग लगायत उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याउने कार्यक्रम यस क्षेत्रका लागि थप महत्वपूर्ण हुने जनाए । उनले पोखरामा मेडिकल कलेज स्थापना गर्ने, पोखरा प्रादेशिक अस्पतालको क्षमता ५ सय शैयामा बिस्तार गरिने, मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माणमा तीव्रता दिने र गोरखाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोरखाबजार, मनकामना, बेनीघाटसम्म पड–वे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाउने तयारीसहित बजेट व्यवस्था गरिएको बताए ।

प्रशिक्षणमा बोल्दै उनले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको भन्दै सबैलाई एकीकृत गरी अगाडि बढिने बताए । पार्टीको गण्डकी प्रदेश पार्टी प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आफू निरन्तर जनक्रान्तिमा रहेको र सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे ।

उनले भने, ‘फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ । हामी स्वागत गर्न तयार भएर बसेका छौं । म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु, हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टिनु भयो । त्यो बाटो सही सावित भएन, हामी सही छौं ।’

प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारीपीडितले कालो झण्डा र ब्यानर देखाएका थिए ।

प्रशिक्षणलाई सम्बोधन गर्न जानेक्रममा उनलाई कालो झण्डा र ब्यानर देखाइएको हो । प्रदर्शनकारीमध्ये १२ जनालाई प्रहरीले नियन्त्रण लिएको सहकारीपीडित संयुक्त संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताए । तीमध्ये पोखरा सराङकोटका ७८ वर्षीय भीमप्रसाद चपाईँ र पोखरा लेकसाइडकी ३० वर्षीया अनुराधा श्रेष्ठ घाइते छन् ।

प्रधानमन्त्री प्रचण्डले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौं सभामा भाग लिन अघिल्लो दिन नै पोखरा आएकामा बुधबार फर्किएका छन् । दैनिकबाट०