भरतपुर महानगरले ठुलो डिसप्लेमा नेपाल र नेदरल्याण्डबीचको खेल देखाउने

चितवन/भरतपुर महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउने भएको छ । टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार नेदरल्याण्डसँग खेल्दैछ । यसको प्रत्यक्ष प्रसारण राती ९ः१५ बजे भरतपुरको गेष्ट हाउस चौरमा देखाउन लागेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
नेपाल सन् २०१४ पछि टि–२० विश्वकप खेल्न लागेको छ । क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठुलो डिसप्लेको व्यवस्था गरिएको महानगरले जनाएको छ ।
भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेकाले यहाँ क्रिकेटको गतिविधि र महोल वृद्धि हुँदै गइरहेको छ । सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको यसै मैदानमा खेलाउने क्यानको तयारी पनि छ ।