बैंकहरूको निष्क्रिय कर्जा ३६ अर्ब बढ्यो

काठमाडौं/सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा एक वर्षमा ३५ अर्ब रूपैयाँभन्दा बढी निष्क्रिय कर्जा थपिएको छ । सुस्त अर्थतन्त्रका कारण बैंकहरूले प्रवाह गरेको कर्जा असुलीमा समस्या हुँदै गएपछि निष्क्रिय कर्जा बढ्दै गएको हो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिना ९चैत मसान्त०मा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव ८९ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ९९ करोड ६८ लाख २६ हजार रूपैयाँ छ । यस अवधिमा बैंकहरूको निक्षेप ५४ खर्ब ४३ अर्ब ९५ करोड ७० लाख रूपैयाँ पुगेको छ भने कर्जा ४५ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ छ ।

बैंकहरूको निष्क्रिय कर्जा एक वर्षमा शून्य दशमलव ६६ प्रतिशत विन्दु अर्थात् ३६ अर्ब ११ करोड ८५ लाख ४२ हजार नौ सय रूपैयाँले बढी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव २३ प्रतिशत अर्थात् एक खर्ब ३९ अर्ब ८७ करोड ८२ लाख ८२ हजार एक सय रूपैयाँ थियो । एक वर्षअघि वाणिज्य बैंकहरूले ४८ खर्ब ३२ अर्ब ६६ करोड ५० लाख रूपैयाँ निक्षेप संकलन गरी ४३ खर्ब ३० अर्ब ५९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार छ वटा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा घटेको छ भने १३ वटाको बढेको छ । एउटाको स्थिर छ । एभरेष्ट बैंकको निष्क्रिय कर्जा एक वर्षअघिकै बराबर शून्य दशमलव सात प्रतिशत छ ।

ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल, माछापुच्छ्रे प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, स्टान्डर्ड चार्टर्ड, हिमायलन, एनआईसी एसिया, नेपाल बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा चार दशमलव ७४ प्रतिशत छ । एक वर्षअघि तीन दशमलव ९६ प्रतिशत थियो ।

प्र्राइम कमर्सियल बैंकको निष्क्रिय कर्जा एक वर्षमा एक दशमलव २३ प्रतिशत विन्दुले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव शून्य छ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले चार दशमलव २९ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा एक वर्षमा एक दशमलव ३१ प्रतिशत विन्दुले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव ३७ प्रतिशत रहेको माछापुच्छ्रेको निष्क्रिय कर्जा यस आर्थिक वर्षको सोही अवधिमा तीन दशमलव ६८ प्रतिशत पुगेको छ ।

प्रभु बैंकको निष्क्रिय कर्जा पनि एक वर्षमा एक दशमलव ३३ प्रतिशत विन्दुले बढेर चार दशमलव ८१ प्रतिशत पुगेको छ । एक वर्षअघि प्रभुको निष्क्रिय कर्जा तीन दशमलव ४८ प्रतिशत थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ७२ प्रतिशत विन्दुले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा तीन दशमलव ९४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस आर्थिक वर्षको चैतमा चार दशमलव ६६ प्रतिशत पुगेको छ ।

कुमारी बैंकको निष्क्रिय कर्जा पनि एक वर्ष अघिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा तीन दशमलव ९७ प्रतिशत रहेको कुमारीको निष्क्रिय कर्जा यस आर्थिक वर्षको सोही अवधिमा चार दशमलव ९५ प्रतिशत छ ।

स्टान्डर्ड चार्टर्ड, हिमालयन र एनआईसी एसिया बैंकमा पनि पछिल्लो समय निष्क्रिय कर्जा बढेको छ । यी बैंकहरूमा क्रमशः दुई दशमलव १४, चार दशमलव ९६ र एक दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः शून्य दशमलव ९०, चार दशमलव ५६ र शून्य दशमलव ७४ प्रतिशत थियो ।

नेपाल एसबीआई र लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा यी बैंकहरूमा क्रमशः एक दशमलव ९८ र पाँच दशमलव ४९ प्रतिशत निष्क्रिय कर्जा छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः शून्य दशमलव ९७ र एक दशमलव ८२ प्रतिशत थियो ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक निष्क्रिय कर्जा यस अर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः चार दशमलव ३० र चार दशमलव ८५ छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः तीन दशमलव ८८, चार दशमलव १६ र प्रतिशत थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल, कृषि विकास, सानिमा, सिद्धार्थ, नबिल र एनएमबी बैंकको निष्क्रिय कर्जा भने घटेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव ९८ प्रतिशत निष्क्रिय कर्जा रहेको सिटिजन्स बैंक इन्टरनेसनल बैंकमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव २० प्रतिशत निष्क्रिय कर्जा रहेको कृषि विकास बैंकमा अहिले तीन दशमलव ३० प्रतिशत निष्क्रिय कर्जा छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव २७ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा यस आर्थिक वर्षको चैत मसान्तमा घटेर एक दशमलव ८९ प्रतिशतमा झरेको छ ।

सिद्धार्थ र नबिल बैंकको निष्क्रिय कर्जा पनि घटेको छ । गत चैत मसान्तमा यी दुई बैंकको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव ५२ र एक दशमलव २७ प्रतिशत छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा क्रमशः तीन दशमलव ९५ र एक दशमलव ९८ प्रतिशत थियो । एनएमबी बैंकको निष्क्रिय कर्जा पनि एक वर्षअघिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव ९६ प्रतिशत रहेको एनएमबीको निष्क्रिय कर्जा अहिले दुई दशमलव ८६ प्रतिशतमा झरेको छ ।(आर्थिक दैनिकबाट)