भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी, तयारी पुरा

भरतपुर/चितवन एक्स्पो सेन्टर भरतपुरमा भोलिदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु हुँदै छ । नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनी जेठ २० गतेसम्म सञ्चालन हुने छ ।

प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुका नवीनतम प्रविधिहरुको प्रदर्शनी गरिने आयोजकले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी एवम् समग्र किसानवर्गको प्रत्यक्ष संलग्नता रहने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए। प्रदर्शनीसँगै पोल्ट्री व्यवसायका नवीनतम प्रयोग सम्बन्धी गोष्ठी, बैठक र अन्तरक्रियासहित तीन दिने पोल्ट्री पाठशाला सेमिनार समेत हुने उनले जानकारी दिए ।

प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धीत कम्पनीहरुको स्टल रहनेछ । ‘नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायीक परिचय दिई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशहरुमा भइरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्राउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्न लागेको हो’, उनले भने ।

प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकले कम लागतमा पोल्ट्रीजन्य वस्तुको उत्पादन गरी उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन खरिद गर्ने वातावरण बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।