एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सकियो, दुई दिन बन्द सत्र चल्ने

चितवन/नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशनको उद्घाटन सत्रको आज एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । ग्लोक्सी गार्डेन रिर्सोट लंकुमा सुरु भएको अधिवेशन १४ गतेसम्म चल्ने छ । प्रत्येक तीन वर्षमा जिल्ला अधिवेशन हुने गर्दछ । तर यसपाली चितवनको अधिवेशन दुई वर्ष चार महिनामै गरिएको हो ।

प्रत्येक वडा पार्टी कमिटी, जनवर्गीय संगठन जिल्ला कमिटी, सल्लाहकार परिषद्, निर्वाचन आयोग, लेखा आयोग, चितवन–काठमाडौं सम्पर्क मञ्चबाट छानिएर आएका ५९० जना, जिल्ला कमिटी अर्थात आयोजक कमिटी १४३ जना गरी ७३२ र मनोनित २९ जना गरी कुल ७६१ जना अधिवेशनमा प्रतिनिधि भएर आएका छन् ।

संभव भए सर्वसम्मत र सर्वसम्मत नभए ती प्रतिनिधिले मतदान मार्फत आगामी नेतृत्व चयन गर्ने छन् । अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई सहित १२० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । प्रतिनिधि पनि त्यसैअनुसार ल्याइएको एमाले चितवनले जनाएको छ । अधिवेशनका अवसरमा भूमिगतकालमा भूमिगत भएका पार्टी नेताहरुलाई आश्रय दिने सेल्टरदाता एवम् एमाले चितवनका अग्रज नेताहरुलाई सम्मान गरिएको छ ।

त्यसैगरी अधिवेशनकै अवसरमा अधिवेशन स्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० जिल्ला कमिटी चितवन र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।