सहकारी घोटला काण्ड: प्राइम सहकारीको डेढ अर्ब अपचलन, ८ जना पक्राउ
पोखरा/पोखरामा अर्को एक सहकारीमा १ अर्ब ५४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको अभियोगमा पदाधिकारीसहित ८ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, कर्मचारी तथा अधिवक्तासमेत रहेको सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले बताए ।
१ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ५२ रुपैयाँ हिनामिना तथा अपचलन गरेको व्यहोराको सहकारी रजिस्ट्रार कार्यालय गण्डकीको पत्र प्राप्त भएपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरू थापा, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ छन् ।
यसअघि मंगलबार नै प्रहरीले एक सूचनामार्फत सहकारीका बचतकर्तालाई उजुरीको आह्वान गरेको थियो । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने पत्राचार प्रहरीलाई गरेको थियो । त्यसपछि नै सूचना आह्वान भएको हो । जसमा आगामी २० जेठभित्र आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन आह्वान गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।