चितवनमा जनतासँग एमाले अभियान सकियो, अब अधिवेशनको तयारी हुँदै
चितवन/नेकपा (एमाले) चितवनले फागनु १५ गतेबाट सुरु गरेको ‘जनतासँग एमाले’ अभियान सकिएको छ ।जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भए । २ महिनासम्म चलेको अभियानले चितवनलाई एमालेमय बनाएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन् ।
जिल्लाका ९८ वटै वडामा प्रदेश कमिटीका वर्तमान सदस्य, पूर्व सदस्य र जिल्ला कमिटी सदस्यलाई अभियानको वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरी जिल्ला पार्टी नेतृत्वले कार्यक्षेत्रमा खटाएको थियो । जसले कार्यक्रम प्रभावकारी बनाउन उल्लेखनीय भुमिका निर्वाह गरेको अध्यक्ष न्यौपानेले बताए । उनीहरुले टोलटोलमा पुगेर त्यहाँका नेतृत्वलाई कार्य विभाजन गराई अभियान चलाए ।
अध्यक्ष न्यौपानेका अनुसार जनतासँग एमाले अभियान अन्तर्गत जनप्रतिनिधि र पार्टीबीचको अन्तर सम्बन्धलाई मजबुत पार्ने खालका विभिन्न कार्यक्रम, एक वडा एक रचनात्मक कार्यक्रम सञ्चालन, पार्टी सदस्यता नवीकरण, नयाँ पार्टी सदस्यता वितरण, वडा स्तरमा प्रशिक्षण कार्यक्रम, टोल एवम् वडा कमिटीहरु गठन पुनःगठन गर्ने कामहरु यस अभियानको क्रममा भए ।
यसैगरी स्थानीय स्तरमा भइरहेका विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिएर आइपरेका समस्याहरुको समाधानका लागि स्थानीय पार्टी कमिटीले पहल कदमी लिने, जनजीविकाका सवाललाई एमालेले उठाउने जस्ता विषयहरुका बारेमा अभियानका क्रममा जनतालाई सुसूचीत गराउने, वार्ड स्तरमा रहेका संघ संस्थाहरुको विवरण, रोजगारीको अवस्था, वैदेशिक रोजगारी लगायतका विषयमा जानकारी लिने काम समेत अभियानका क्रममा भयो ।
यस अभियानले पार्टी संगठनलाई मजबुत बनाउँदै लैजाने र पार्टी शुद्धिकरण एवम् सुदृढीकरणका लागि कोसेढुङ्गा साबित हुने विश्वास सिंगो पार्टी कमिटीले लिएको छ । साथै अभियानले एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी भूमिका खेल्न सफल भएको पार्टी कमिटीको विश्वास छ ।
२ महिने अभियान समाप्तिपछि अब नेकपा एमाले चितवन जिल्ला अधिवेशनमा जुटेको छ । जिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते ११ औं जिल्ला अधिवेशन गर्ने निर्णय गरिसकेको छ । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी गराउने तयारी एमाले चितवनले थालेको छ ।
अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।
आज बैशाख १० गतेबाट चितवन जिल्लाभित्र पार्टीको कुनै पनि तहको अधिवेशन जिल्ला अधिवेशन नसकिएसम्मका लागि रोकिएको पार्टीले जनाएको छ ।