महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरमा खेलाउने इच्छा छ–प्रमुख दाहाल
चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताउनुभएको छ ।
शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गर्नुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।
प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने स्पष्ट पार्नुभयो । यसका लागि वागतमी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले केही दिनमा बजेट विनियोजन गर्ने पनि उल्लेख गर्नुभयो ।
वागतमी प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रु १ अर्ब लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको छ ।
यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित नेपालका ३ रंगशालाले राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेको छ ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेलकुद क्षेत्रमा ठुलो लगानी गरेकाले खेल विधामा नेपालको ७५३ पालिका मध्ये प्रथम स्थान हासिल गरी पुरस्कृत भएको स्मरण गराउनुभयो ।
यही गरिमालाई उच्चो पार्न भरतपुरमा दैनिक रुपमा खेल गतिविधिहरु हुने गरेको प्रमुख दाहालको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एक वर्षभित्र गौतम बुद्ध क्रिकेट रंगशालाका दुई वटै मैदानमा खेल खेल्न मिल्ने गरी काम हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।
अध्यक्ष चन्दले अलपत्र रहेको रंगशालाको बाँकी निर्माण कार्यका लागि भरतपुर महानगर प्रमुख दाहालले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।
कार्यक्रममा मैयाँदेवि ट्रष्टका महासचिव टंकनाथ पौडेल, कार्यक्रम संयोजक बचन कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबीच शुक्रबार भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । सुदुरपश्चिमले दिएको ५८ रनको झिनो लक्ष्य गण्डकीले १० ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । गण्डकीको जितमा सीमाना केशीले नटआउट २० रन बनाईन् । ३४ बल खेलेकी सीमानाले २ चौका प्रहार गरिन् । सुदुरपश्चिमकी अनु कडायत र जानका थापाले १–१ विकेट लिए ।
त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको सुदुरपश्चिम १६ ओभर १ बलमा ५७ रनमा समेटियो । उसका लागि सावित्री धामीले १२ बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्न गण्डकीकी निरुता जिटी एक्लैले ४ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी निरुताले एक मेडन राख्दै ४ रन मात्र खर्चिन् । ज्योत्सनिका मरासिनीले २ तथा आकृति तिवारी र सीमाना केसीले १–१ विकेट हात पारे । ४ विकेट लिएकी निरुता प्लेयर अफ दि म्याच बनिन् ।