आज चितवनको गोलाघाटमा माघे संक्रान्ति मेला गरिँदै

चितवन/आज चितवनको गोलाघाटमा माघे संक्रान्ति मेला हुँने भएको छ । कुमाल समाज नेपालले गर्ने माघे संक्रान्ति मेलामा देशभरका ७० जिल्लामा रहेका ६ हजार कुमाल समुदायको सहभागिता रहने जनाइएको छ । संस्थाका अध्यक्ष तेलबहादुर(विशाल) कुमाल र प्रचारप्रचार संयोजक राजन कुमालका अनुसार यस मेलामा सांस्कृति कार्यक्रमसहित कुमाल जातिको मौलिक भेषभुषाको प्रदर्शन गरिने भएको छ ।

मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने लक्ष्य राखिएको यस माघे संक्रान्ति पर्वमा कुमाल समुदायबाट विभिन्न पेसा र व्यवसायमा आवद्ध तीन दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गर्ने तयारी गरिएको समाजले जनाएको छ । समाजले कुमाल समुदायको लागि माघे संक्रान्ति दसैँ, तिहार भन्दा ठूलो पर्व भएको जनाएको छ । यस पर्वको बारेमा सरकारले सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।

कुमाल समुदाय देशका ७० वटा जिल्लामा बसोबास गर्छन् । २०७८ को जनसांख्यिक आँकडाअनुसार एक लाख २९ हजार ७०२ जना रहेको छ । यस कार्यक्रममा ७० जिल्लाबाट ६ हजार बढी कुमालहरु सहभागी हुने जनाइएको छ । माघे संक्रान्तिको दिन कुमाल समुदायमा बिहानै घरको मुली खोलामा गएर नुहाउने र घरमा आइ पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टिका लगाइदिने परम्परा रहेको कुमाल समाज नेपालले जनाएको छ ।

सोही दिन छोरी कुटुम्बलाई घरमा बोलाएर पुज्ने समेत गरिन्छ भने कुखुरा, सुँगुरको मासु, माछा, सेलरोटी, खुदौरो, भाते जाँड जसता मिठामिठा परिकार तथा प्राकृतिक फल खाने प्रचलन रहेको छ । मेयर रेणु दाहाल लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ ।