रत्ननगर महोत्सवमा जिप सफारी: पर्यटन विकासका लागि धार्मिक स्थलहरूको यात्रा
चितवन/चितवनको पूर्वी क्षेत्रस्थित रत्ननगर टिकौलीचौरमा जारी रत्ननगर महोत्सवमा पर्यटन विकासका लागि धार्मिक स्थलहरुसम्म जिप सफारी सञ्चालन गरिएको छ । रत्ननगर नगरपालिकाभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्र प्रवर्द्धनका लागि धार्मिक जिप सफारी सुरु गरिएको हो ।
रत्ननगर नगपालिकासँगको सहकार्यमा महोत्सवअन्तर्गतको पर्यटन प्रवर्द्बन समिति र पञ्चनदी जलाधार क्षेत्र संरक्षण समितिले संयुक्त रूपमा धार्मिक जिप सफारी सञ्चालन गरिएको संघका पर्यटन प्रवर्द्धन समितिका संयोजक नेत्र गिरीले जानकारी दिए । महोत्सव अवलोकनका लागि आएका दर्शकहरूलाई गायत्री हरिहर मन्दिर, चिसापानी त्रिवेणीधाम, पञ्चकन्या देवी मन्दिर, आत्मशान्ति गुम्बा र धर्मधाम जिरौनाको अवलोकन गराउँदै धार्मिक महत्त्वबारे प्रकाश पारिएको पञ्चनदी जलाधार क्षेत्र संरक्षण समितिका सचिव सुवास घिमिरेले जानकारी दिए । २४ जना विदेशी पर्यटकसहित अन्य पर्यटकहरुलाई जिप सफारी गराइएको उनले जानकारी दिए ।
रत्ननगर महोत्सवको १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ । महोत्सवको मुख्य आकर्षण कृषि परिसर, सांस्कृतिक घर र मोटरबोट रहेका छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरू रहेका छन् ।
यसपटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरूले अवलोकन गर्ने र करिब २५ करोडबढीको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । विगतका वर्षहरूमा जस्तै महोत्सवअन्तर्गत आइतबारदेखि रत्ननगरको सौराहाचोक बसपार्कमा पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव सुरु हुँदैछ । रत्ननगर महोत्सव माघ ८ गते सम्म सञ्चालन हुनेछ ।