मेघौलीमा हंसको सहकारी शिक्षा
भरतपुर–१, शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम भरतपुर २८ , जीतपुर मेघलीमा शुक्रबार सम्पन्न गरेको छ । सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा, बचत र ऋण कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषयमा जानकारी दिने उद्धेश्यले सहकारी शिक्षा कार्यक्रम गरिएको संस्थाका शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीले जानकारी दिए ।
सहकारीको आवश्यकता, सिद्धान्त, विकास र महत्वको सम्बन्धमा संस्थाका शिक्षा उपसमिति सदस्य नेत्र बन्धु पोखरेलले सहजीकरण गरेका थिए । त्यसैगरी बित्तीय साक्षरता, बचत, पारिवारिक बचत र उद्यमशिलता, संस्थाको आर्थिक अवस्थाको विश्लेषण र सेवा सुविधाका बारेमा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहजीकरण गरेका थिए। उनले सहकारी संस्थामा सेयर सदस्यको भूमिका, सदस्यको काम, कर्तव्य र अधिकार, बचत गर्दाको फाइदा, सहकारी आफैले उत्पादन क्षेत्रमा लगानी गरेर सदस्यलाई आय आर्जनमा लगाउन सकिने, र नियमित बचत एवम् सहकारीमा आधुनिक प्रविधि जस्ता विषयका बारेमा प्रष्ट पारेका थिए ।
संस्थाको जीतपुर सेवाकेन्द्र अन्तर्गतका नयाँ सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा संस्थाका सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक देवी प्रसाद पौडेल, सदस्य हरिचन्द्र महतो, लगायतले शुभकामना मन्तव्य राखेका थिए। शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुर सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य नेत्र प्रसाद आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन शिक्षा उपसमितिका सदस्य बिदुर केसीले गरेका थिए।
संस्थामा हाल चार हजार आठ सय जना सदस्य रहेका छन भने जीतपुर सेवाकेन्द्रमा ३०३ जना सदस्य रहेको जानकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले दिए।