रत्ननगर महोत्सव सुरु
चितवन/बिहिबारबाट रत्ननगरको टिकौलीचौरमा रत्ननगर महोत्सव सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सवलाई उद्घाटन गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले महोत्सवको सफलताको शुभकामना दिँदै महोत्सवबाट चितवनको आर्थिक क्षेत्र चलायमान हुँदै जाने बताएका छन् । उनले भने, ‘महोत्सवका कारण आर्थिक चलायमान हुनुका साथै उपभोक्ता, व्यवसाय सबै अगाडि बढ्दै जानेछ ।’
उद्घाटन अघि बिहान रत्ननगर २ नेपाल माध्यमिक विद्यालयको चौरबाट विभिन्न संघसंस्था तथा हात्तीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्रामा पूर्वीचितवनको थारुसमुदाय सहितका विभिन्न जातीय तथा धार्मिक समुदायको झाँकीहरु प्रदर्शन गरिएका छन् ।
यस महोत्सवमा चितवनको कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ । मकै बालीको संरक्षण र प्रवद्र्धनकालागिमहोत्सव स्थलमा मकै बाली स्थापनातथा मकैको स्टाच्यु निर्माण गरिएको छ ।
महोत्सवमा रामपुर मकै बाली अनुसन्धान केन्द्रबाट २० प्रजातिका मकैको बारेमा जानकारी दिइएको छ । महोत्सव स्थलमा मकै बाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिएको छ ।
पर्यटन विकासअन्तर्गत खगेरी खोलामा मोटरबोट सञ्चालन गरिने भएको छ । रत्ननगर भएर बग्ने खगेरी खोलामा दीर्घकालीन रुपमा मोटरबोट सञ्चालन गरेर पर्यटक भित्र्याउने लक्ष्यअनुसार महोत्सवको अवधिभर मोटरबोट सञ्चालनमा ल्याइएको हो । महोत्सवमा २०० रूपैयाँ तिरेर साढे दुई किलोमिटर मोटरबोटको आनन्द लिन सकिने व्यवस्थागरिएको छ ।
माघ ८ गतेसम्म चल्ने महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहेका छन् । यसपटकको महोत्सवमा तीनलाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।