उवासंघ चितवनको निर्वाचन शुरु, अध्यक्षका लागि श्रेष्ठ र पन्तबिच घम्साघम्सी ।
चितवन/उद्योग वाणिज्य संघ चितवनको ५७औं साधारणसभा तथा अधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको लागि आज अहिले बिहान ८ बजेबाट निर्वाचन शुरु भईसकेको छ। संघको अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र तृतीय उपाध्यक्ष सिरिष पन्तबीच प्रतिस्पर्धा हुँदै छ ।
नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका रहेको निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्षका उम्मेदवार श्रेष्ठ संस्थापन प्यानलका हुन् भने पन्त विना प्यानल एक्लै चुनावमा होमिएका छन् । अधिवेशनले पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमिती चयन गर्नेछ ।
उमेदवारहरु आफ्नो पक्षमा मत तान्न अन्तिम कसरतमा छन् । मतदान स्थल बाहिर पनि उमेदवारहरुले व्यवसायीसँत मतको लागि अन्तिम पटक आग्रह गर्ने गरेका छन् ।
वस्तुतगततर्फ ४ जना, कर्पोरेटतर्फ दुई जना, क्षेत्रीयतर्फ १ जना गरी ७ जना कार्यसमितिका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना पदाधिकारी, उद्योगतर्फ ६ जना, बाणिज्यतर्फ ६ जना र महिलातर्फ १ जनाका लागि आज मतदान हुन लागेको हो ।
जिल्लाको पुरानो नारायणी फर्निचर व्यवसायीका रुपमा परिचित अध्यक्षका उम्मेदवार श्रेष्ठले निर्वाचित भए लगानीमैत्री वातवारण निर्माण गर्ने, बजार क्षेत्रमा पार्किङको वैज्ञानिक व्यवस्थापन गर्ने, आर्थिक मन्दीको असर परेको व्यवसाय क्षेत्रमा कर घटाउन पहल गर्ने, घरभाडा कम गर्न घरबेटीसँग सहकार्य र समन्वय गर्ने लगायतका एजेण्डा अगाडि सारेका छन् । उनले संघमा आफ्नो पुरानो संलग्नता रहेकोले निर्वाचन जित्ने बताउँदै आएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार पन्तले चितवन महोत्सवमा हुने आर्थिक अनियिमता हटाउने, ३५ दिनभित्र महोत्सवको हिसाब सार्वजनिक गर्ने, बजार क्षेत्रलाई २४ सैं घण्टा चलाउनका लागि पहल गर्ने, पूर्वी र पश्चिम चितवनबाट आउने सवारीलाई नारायणगढ बजारसम्म ल्याउनका लागि दबाब दिने, लगायतका एजेण्डा अगाडि सारेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (वाणिज्य) तर्फ राजेन्द्र ओली र रजनी मास्के उम्मेदवार छन् । मास्के ६ पटकसम्म सदस्य हुँदै उपाध्यक्षमा उमेद्धवारी दिएकी हुन् । वस्तुगत÷कर्पोरेटतर्फ उपाध्यक्षमा नारायण प्रधान र जनक पौडेल उम्मेदवार बनेका छन् ।
उद्योगतर्फको उपाध्यक्षमा भने अशोक अधिकारी सर्वसम्मत बनेका छन् । उद्योगतर्फ उम्मेदवारी दर्ता गरेका थिरप्रसाद धितालले उम्मेदवारी निस्क्रिए बनाएको घोषणा गरेपछि अधिकारी सर्वसम्मत भएका हुन् । यद्यपी आधिकारीक रुपमा दुवैको उमेदवारी कायमै रहेकाले अधिकारी मतदानको प्रक्रियामा सहभागी हुने छन् ।