चितवनमा पुस १७ गते पोल्ट्री दिवस मनादैं, मासु र अण्डा महोत्सव पनि हुने
चितवन/चितवनमा पुस १७ गते विविध कार्यक्रम गरेर पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०१७ साल पुस १७ गते सुरु भएको पोल्ट्री व्यवसायको स्मरणमा नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा यस वर्ष ११ औं राष्ट्रिय पोल्ट्री दिवस मनाउन लागिएको हो ।
चितवनमा विसं २०७० देखि हरेक वर्ष राष्ट्रिय पोल्ट्री दिवस मनाउने गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जारी गरेको सूचनामा उल्लेख छ । यस वर्षको ११ औं राष्ट्रिय पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडका रुपमा मनाउनु पर्छ भन्ने मान्यताअनुरुप नेपाल कुखुरा व्यवसायी मञ्चले सरकारी तथा निजी क्षेत्रबीच आवश्यक समन्वय गरी सप्ताहव्यापी रुपमा दिवस मनाइने भएको छ ।
‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मुल नाराका साथ मनाइने यो दिवसमा विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अण्डा र कुखुराको मासुको महत्वबारेमा जानकारी गराउने उद्देश्य लिइएको छ । नेपाल भेटेरीनरी एशोसियसन बागमती प्रदेशसँगको सहकार्यमा स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । अहिले सम्म २६ वटा सरकारी तथा निजी विद्यालयका कुल एक हजार ९४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे चिकित्सकहरुले प्रशिक्षण दिँदै निःशुल्क रुपमा अण्डा बितरण गरिएको छ ।
पुस १७ गते बिहान मञ्चको कार्यालय परिसरबाट बाजागाजा र प्ले कार्डसहित प्रभातफेरी गरी भरतपुर–२ क्षेत्रपुर नमस्ते चोकमा भरतपुर महानगर पालिका वडा नंं। २ को सहकार्यमा बृहतखुला रक्तदानको कार्यक्रम गरिने भएको छ । सोही स्थानमा एक दिने चिकेन एण्ड एग फुड फेस्टिबलको आयोजना गरिने मञ्चले जनाएको छ ।
नेपालमा आधुनिक कुखुरापालन सुरुवात २०१७ साल पुस १७ गते भएको थियो । परवानीपुर बाराको सेन्ट्रल ह्याचरीको उद्घाटन पश्चात नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात भएको मानिन्छ । देशको कुलग्राहस्थ उत्पादनमा करिब ३।५प्रतिशत हिस्सा आगटेको पोल्ट्री व्यवसायमा करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी भएको अनुमान गरिएको छ भने करिब चार लाख ५० हजार व्यक्तिलाई पोल्ट्री क्षेत्रले रोजगारी प्रदान गर्दै आइरहेको छ ।
नेपालको कुखुरा पालन व्यवसायमा आधुनिक प्रविधि भित्रदै गइरहेको संघले जनाएको छ । यस पेसाले आयात प्रतिस्थापन गर्दै आम देशवासीलाई सबै भन्दा सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त खाद्यन्न मासु र अण्डा उपलव्ध गराएको संघले जनाएको छ । कुखुरा व्यवसायी मञ्चले कुखुराको मासु र अण्डा मानव स्वास्थका लागि उपयुक्त खाद्यन्न मानिँने बताउँदै कुखुराको मासु र अण्डामा कुनै मिसावट नहुने, चिल्लोको मात्र कम, प्रोटिनको मात्र बढी हुने, पकाउन सजिलो, पचाउन सहज हुने, युरिक एसिड, मुटु रोगीका बिरामीलाई समेत उपयोगी हुने जनाएको छ ।
मञ्चले विकसित देशहरुमा प्रति व्यक्ति प्रतिवर्ष अण्डाको खपत नेपालको भन्दा धेरै गुणा बढी रहेको जनाएको छ । त्यसै कारण पनि नेपालीहरुको भन्दा विकसित देशका मानिसहरुको औषत आयु समेत बढी रहेको मञ्चले जनाएको छ । मञ्चको तथ्यांका वार्षिकरुपमा एक व्यक्तिले सबैभन्दा धेरै अण्डा खपत गर्ने ९ देशमा चीन अग्र स्थानमा छ भने नेपाल सबैभन्दा कम अण्डा खपत गर्ने देशमा पर्छ ।