बैंकिङ निक्षेप ५९ खर्ब ब्याजदर घट्ने आश्वासन !

काठमाडौं/नेपालको बैंकिङ प्रणालीमा ५९ खर्ब रुपैयाँ निक्षेप पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबारसम्म समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप ५९ खर्ब रुपैयाँ पुगेको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको निक्षेप ५२ खर्ब १४ अर्ब रुपैयाँ छ । अन्य बैंक तथा वित्तीय संस्थासँग छ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप देखिएको छ ।

बैंकहरूको कर्जा लगानी पनि करिब ५० खर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरूबाट प्रवाह भएको कर्जा ४४ खर्ब पाँच अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरूले पाँच खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकर्स संघका अनुसार असारयता वाणिज्य बैंकहरूको निक्षेप एक खर्ब २० अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह ८४ अर्ब रुपैयाँले बढेको छ । असारयता समग्र वित्तीय क्षेत्रको निक्षेप भने एक खर्ब ३० अर्ब रुपैयाँले बढेको छ । कर्जा लगानी ९८ अर्ब रुपैयाँले बढेको छ ।

गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ७० अर्ब रुपैयाँ र कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रुपैयाँ थियो । आइतबार सम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० ८१ दशमलव ५३ प्रतिशत छ । बैंकहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । अर्थात् बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभित्र कायम हुनुपर्छ । यस आधारमा बैंक कता वित्तीय संस्थासँग करिब पाँच खर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्नसक्ने क्षमता छ । निक्षेप संकलन बढ्दै गएकाले अब ब्याजदर घट्दै जाने बैंकरले बताउँदै आएका छन् । सोमबार बैंकर्स संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अब ब्याजदर घट्दै जाने बताएका थिए । उनले बैंकहरूको औसत आधारदर एकल विन्दुमा झरेको र प्रिमियिम पनि घटाउँदै लगेको बताएका थिए ।

राष्ट्र बैंकका अनुसार बैंकहरूबीच हुने कारोबारको ब्याजदर तीन दशमलव २२ प्रतिशत छ । करिब दुई वर्षयता अर्थतन्त्रमा देखापरेको मन्दीका कारण बैंकहरूको कर्जा लगानी पनि प्रभावित भएको छ । खासगरी रुस–युक्रेन युद्धपछि विश्वभर महँगी बढेपछि नेपालमा पनि प्रभाव परेको छ । कोभिड–१९ पछि आयात बढ्दा गतवर्ष सरकारले विलासी वस्तुको आयात रोकेको थियो । त्यसपछि आन्तरिक बजार प्रभाविति भएको थियो । त्यसको असर अहिले पनि परिरहेको छ । राष्ट्र बैंकले पनि ब्याजदर बढाउने नीति लिएको थियो । मूल्यवृद्धि लक्षित सीमाभन्दा माथि पुगेपछि केन्द्रीय बैंकले बजारमा माग पक्ष घटाई नियन्त्रण गर्न खोजेको थियो ।

यही कारण बजार प्रभावित भयो । वस्तु बिक्री घट्यो । बजारमा आर्थिक कारोबार खुम्चिँदा कर्जाको माग घट्यो । ऋणीले किस्ता तिर्न नसक्दा खराब कर्जाको आकडा पनि बढ्दै गयो । कालोसूचीमा पर्नेको संख्या पनि उच्च पुगेको छ । अहिले बैंकमा निक्षेप बढेको छ । लगानीयोग्य रकम पनि पर्याप्त छ । अर्थतन्त्रको बाह्य क्षेत्रका सूचकहरू पनि बलियो स्थितिमा छन् । यही कारण अब आन्तरिक बजार पनि चलायमान बन्दै जाने विश्वास बैंकरको छ । (आर्थिक दैनिकबाट)