जनचेतना बहुमुखी सहकारी संस्थाको अध्यक्षमा इञ्जिनियर शिवहरि घिमिरे सर्बसम्त चयन।
चितवन/भरतपुर महानगरपालिका–१२ को जनचेतना बहुमुखी सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर शिवहरि घिमिरे चयन भएका छन् ।
संस्थाको आज सम्पन्न ३२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा विजयराज पौड्याल, सचिवमा हरिकुमार बोहरा, कोषाध्यक्षमा पवन घिमिरे रहेका छन् । त्यसैगरी समितिको सदस्यहरुमा सुशिल लौडारी, रन्जु शर्मा, दुर्गा चापागाईँ, अमृतप्रसाद काफ्ले, सिर्जना दवाडी, रोशन पण्डित र देवीप्रसाद पौडेल रहेका छन् ।
सहकारीको लेखासमितिमा संयोजकमा सुमन घिमिरेसहित सदस्यहरुमा मधुसूदन दवाडी र पुष्पा घिमिरे रहेका छन् । त्यस्तै ऋण समितिको संयोजकमा निवर्तमान अध्यक्ष अच्युत कोइराला, सदस्यहरुमा लता घिमिरे र अमृतप्रसाद काफ्ले छन् । सहकारीको ऋण असुली उपसमितिमा संयोजक विजयराज पौडयाल रहेका छन् भने सदस्यहरुमा कुमार गुरुङ र सुशिल लौडारी छन् ।
नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष घिमिरेले अबको चार वर्ष सहकारीको लगानीलाई कृषिलगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जनामा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे । उनले केही ऋणीहरुको धितो लिलामीमा आफू पूर्णतया केन्द्रित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
सहकारीका निवर्तमान अध्यक्ष अच्युत कोइरालाको अध्यक्षतामा भएको अधिवेशन तथा साधारण सभाको उद्घाटन शत्रमा कोइरालाले अध्यक्षको लिखित मन्तव्य, सचिव हरिकुमार बोहोराले वार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक कुमार गुरुङले लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । २०४८ चैत १२ गते आजभन्दा ३२ वर्ष अगाडि स्थापना भएको सहकारीले सुरुमा भारतीय नाकाबन्दीको समयमा सर्वसाधारणलाई चिनी तथा नुन उपलब्ध गराएर आफ्नो बेग्लै पहिचान बनाएको थियो । अधिवेशनमा उत्कृष्ट कर्मचारीहरु, बचतकर्ता, ऋणीहरुलाई पनि सहकारीले सम्मान गरेको छ ।