‘महँगीले चाडपर्व मान्न धौ धौ’
रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ। प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उनी निरास बनेर गाउँ फर्किए ुघरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी त गर्नु छँदैछ, महँगीले हामीलाई चाडपर्व मनाउनै समस्या छु, दर्जीले भने।
मालिका गाउँपालिका–२ रुमबाट बेनीमा चाडपर्वलाई लक्षित गरी सामान किन्न आएनुभएका रमेश पुनले बजारमा सामानको मूल्य आकाशिएको पाएको बताए। विगतका वर्षको तुलनामा यस वर्ष सामानको भाउ आकाशिएको र घरपरिवारका लागि आवश्यक पर्ने किनमेल गर्न मुस्किल परेको अनुभव सुनाए। ुदरबाङ बजारमा भन्दा बेनीमा केही सस्तोमा सामान पाइन्छ कि भनेर आएको थिएँ, कहाँ सस्तोमा पाउनु, उल्टै गाडीभाडा र समय खेर गयो, चाडपर्व मनाउन पनि धौधौ हुने स्थिति आयोु, उनले भने।
बजारमा अहिले दैनिक उपभोग्य सामग्रीसहित लत्ताकपडा, सजावट र घरायसी सामानको मूल्य आकाशिएको छ। विगतका वर्षको तुलनामा यस वर्ष बजारमा ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म नै महँगी बढेर सामान आएको व्यवसायीहरू बताउँछन्। आफूहरूले खरिद गर्दा नै मूल्य बढेका कारण विगतको तुलनामा बजारमा सामग्रीको मूल्य केही बढेको उनीहरूको भनाइ छ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले खाद्यान्नमा ६० प्रतिशतसम्म मूल्य बढेर आएको र त्यसको प्रत्यक्ष मार सर्वसाधारण र व्यवसायीलाई समेत परेको बताए। चामल, जिरालगायत खाद्य सामग्रीको मूल्य गत वर्षभन्दा दोब्बर भएको छ। तेल, चिनीलगायतका सामग्रीको मूल्यसमेत बढेर आएको छ। ुजिल्लामै कृत्रिम मूल्य बढेको छैन, हामीले व्यवसायीलाई निरन्तर सचेत गराइरहेका छौँ, माथिबाट आउँदा नै मूल्य अस्वाभाविकरूपमा बढेको हो, मूल्य बढेपछि स्वाभाविकरूपमा चाडपर्व खर्चिलो हुने देखिएको छु, अध्यक्ष कटुवालले भने।
बजारमा मूल्य बढेसँगै व्यापार व्यवसायमा पनि गिरावट आएको छ। अन्य समयको तुलनामा चाडपर्वको समयमा व्यापार बढे पनि विगतका वर्षको तुलनामा व्यवसाय खस्किएको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष दसैँको समयमा ३० प्रतिशत व्यापार कम भएको उनको भनाइ थियो।
व्यापार व्यवसाय घट्नुमा बजारमा अस्वाभाविक मूल्यवृद्धिसँगै गाउँमा बसोबाससमेत कम हुँदै जानु अर्को कारण बनेको जानकार बताउँछन्। म्याग्दीको जनसङ्ख्या घट्दो क्रममा हुँदै जानु, गाउँ–गाउँमा बसाइँसराइका कारण रित्तिदै जानुले पनि उपभोक्ता घट्दै गएको हुनसक्ने व्यवसायीको अनुमान छ। देशव्यापीरूपमा आर्थिक सङ्कटको प्रभावले पनि धनी र हुनेखाने परिवारले समेत चाडपर्वमा खुलेर खर्च गर्न सक्ने अवस्था बनेको छैन।
यस वर्ष बजारमा भेडाच्याङ्ग्राको मूल्यसमेत अस्वाभाविकरूपमा बढेको छ। हिमाली क्षेत्रमा पालन गरेर दसैँलाई लक्षित गरेर बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मूल्य ५० हजारसम्म पुगेको छ। भेडाच्याङ्ग्रामा प्रतिगोटामै गत वर्षभन्दा रु १० हजार बढी मूल्य बढेको छ। दसैँकै समयमा बजारमा अत्यधिक खपत हुने स्याउको मूल्यसमेत बढेको छ। अघिल्लो वर्ष प्रतिकिलो रु दुई सयमा खरिद बिक्री हुने स्याउ अहिले बजारमा प्रतिकिलो रु दुई सय ५० पुगेको छ।
बजारमा बढेको मूल्यवृद्धिको नियन्त्रणमा सरकारले ध्यान नदिँदा सामान्य नागरिकले दसैँलगायतका चाडपर्वलाई सकसपूर्ण तवरले मनाउनुपर्ने अवस्थामा पुगेका छन्। भड्किलो तवरले चाडपर्व मनाउने संस्कारले समस्यामा परेका सर्वसाधारण नागरिक बजारमा बढेको मूल्यवृद्धिले चाडपर्वलाई खर्चिलो तवरले मनाउनुपर्ने बाध्यतामा पर्ने गरेका छन्। रासस