बजारमा कालाबजारी, प्रशासन मुकर्दशक !

चितवन/नेपालीहरुको मुख्य चाडपर्व दशैतिहारको मुखमा बजारमा ब्यापक मात्रमा कालाबजारी मौलाएको छ । ब्यापारीहरुले नक्कली अभाव सिर्जना गराई कालाबजारीको प्रपञ्च रचिरहेका भएपनि जिल्लामा स्थानिय प्रशासन भने मुकदर्शक बसिरहेको छ । दशै तिहारको बेला सर्वसाधारणको भान्छामा निकै धेरै खपत हुने चिनी,जिरा, खानेतेलमा अभाव देखाई औंलामा गन्न सकिने केही ब्यापारीहरुले कालाबजारी गराएका हुन् । उनीहरुले चिनीलगाएतका खाधन्नको अभाव देखाएकाले बजारमा हाहाकार मच्चीएको हो । ब्यापारीहरुका अनुसार विदेशबाट चिनी आयात हुन नसक्दा चितवनमा यसको अभाव देखिएको हो ।

नागरिकलाई सस्तो र सर्वसुलभरुपमा खाद्य सामग्री उपलब्ध गराउन नारायणगढमा खुलेको सुपथ मूल्य पसलमा पनि चिनीको अभाव भएको छ । पसल सञ्चालनमा आएसँगै साल्ट ट्रेडिङले दसैँमा चिनी ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो तर यसपटक दसैँमा पनि चिनी नआउनेसाल्ट ट्रेडिङ चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिएका छन् । उनले भने, ‘ धेरै सर्वसाधारण चिनी खोज्दै पसलमा आउने गर्नुभएको छ तर चिनी उपलब्ध छैन । दसैँपछि चिनी उपलब्ध हुने आशा छ ।’ उनले के कारणले चिनीको अभाव भएको हो भन्ने कुरा आफूलाई थाहा नहुने बताए । अहिले बजारमा निजी व्यापारीहरुले कार्टेल गरी अभाव सृजना तथा मूल्यवृद्धि गरेको सर्वसाधारणको बुझाई छ ।

चितवनमा अहिले चिनी १२५ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ । दसैँपछि अझै मूल्य बढेर १५० रुपैयाँ पुग्न सक्ने व्यवसायीले बताएका छन् । किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले ठूला बेकरी र बिस्कुट उद्योगले चिनी ठूलो मात्रामा खरिद गर्दा समस्या भएको बताए । उद्योगले जुन मूल्यमा खरिद गरेका छन् सोही मूल्यमा व्यापारीले खरिद गर्दा चिनी महंगो पर्न गएको उनले बताए । कतिपयले स्टक गरेर राखिदिनाले पनि समस्या भएको पौडेलले बताए ।

गत वर्ष पनि चितवनमा दशैँको मुखैमा बजारमा चिनीको हाहाकार भएको थियो । सरकारी स्वामित्वको खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ दुवै कार्यालयको भण्डारणमा चिनी रित्तिएपछि बजारमा चिनीको मूल्य बढाइएको थियो । यस वर्ष पनि चिनीको कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको छ । बजारमा चिनी छ वा छैन, कति दिनलाई मौज्दात पुग्छ भन्ने विवरण सरकारसँग छैन । नेपालमा १० वटा चिनी मिलहरुले चिनी उत्पादन गर्छन् । मुलुकभित्र हरेक वर्ष एक लाख टन चिनी उत्पादन हुने गरे पनि उत्पादनबाहेक हरेक वर्ष करिब एक लाख टन चिनी भारतबाट नेपाल आयात हुने गरेको छ ।

आजको भण्डाफोर अभियान साप्ताहिकबाट