अनियमितताको केन्द्र यातायात कार्यालय भरतपुर !(प्रमाण सहित स–विस्तार)

भरतपुर/यातायात कार्यालय भरतपुरमा व्यापक अनियमितता र भ्रष्टाचार भईरहेको पुष्टि भएको छ । कार्यालयले सेवा लिन आउने सेवाग्रहीहरुलाई लुटपाट मच्चाईरहेको पाइएको हो । कार्यालयका कर्मचारीहरुले गत मिति २०८० साल भाद्र १० गतेका दिन कार्यालयका निमित्त प्रमुख ऋषिराम भुषालको अध्यक्षतामा बैठक बसी रु.१५० मात्र मेडिकल शुल्क लिने भनी स्वयम् निर्णय गरिसकेको भए पनि सो माइन्युटलाई सिरानीमा राख्दै कार्यालयका प्रमुखसहितका कर्मचारीहरुले बिचौलियाहरुलाई रु. ३५० सम्म मेडिकल शुल्क अशुल्न लगाई व्यापक लुटपाट मच्चाइरहेको खुल्नमा आएको हो ।

बैठकको प्रस्ताव नम्बर १ को स्वास्थ्य परिक्षण सम्बन्धमा लेखिएको उत्त माइन्यूटको निर्णयमा भनिएको छ “यस यातायात व्यवस्था कार्यालय चितवनले स्वास्थ्य परिक्षण निरोगिताको प्रमाण सम्बन्धमा आवश्यक निर्देशन पाउँ भनी श्री श्रम रोजगार कार्यालय बाग्मती प्रदेश प.सं. २०८०/०८१ चलानी नं. १३९ मिति २०८० ५ महिना २५ गते पत्राचार गरिएकोमा सो सम्बन्धमा समेत छलफल गर्दा स्वास्स्थ्य परिक्षण गर्दा बढी शुल्क लिएको भन्ने जनगुनासो आएको र चलानी नम्बर ३७२ मिति २०८० ६ महिना १० गते श्रम रोजगार तथा यातायात मन्त्रालयको प्राप्त पत्र अनुसार सवारी चालक अनुमति पत्रको लागि सूचना प्रकाशन गर्न कार्यविधि मापदण्ड तयार गर्न केही समय लाग्ने भएको हुँदा तत्कालै गुनासोलाई सम्बोधन गर्न स्वास्थ्य परिक्षण तथा निरोगिता प्रमाणको लागि (एनएमसी) नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर प्राप्त चिकित्सकलाई रु. १५० नबढ्ने गरी शुल्क निर्धारण गरी सम्बन्धित पक्षलाई जानकारी गराउने निर्णय गरियो ।” भनिएको छ ।

नवीकरण गरि आएको लाईसेन्समा समेत १ घण्टामात्र वितरण गर्ने भनी सेवाग्राहीलाई लुट्ने काम भैरहेको छ । सेवाग्राहीलाई अफिस समयमा लाईसेन्स बाड्नु पर्नेमा कर्मचारीको अभाव भन्दै सिमित समय तोकि दलाल लगाई अबैध असुली गर्ने गरेको खुल्नमा आएको छ । त्यस्तै यातायात कार्यालय भरतपुरका कर्मचारीले बिदेशमा रहेकाहरूको लाईसेन्स रिन्यु गर्न आउँदा शुरुमा हुन्न भन्ने पछि दलाल मार्फत लाईसेन्स फाटँबाट लाग्ने राजस्व दस्तुर बाहेक रु १० देखि ३० हजारसम्म घुस लिई नवीकरण हुने गरेको जानकारीमा आएको छ । जबकि कानुनमा सम्बन्धित मानिस स्वयं उपस्थित भै मेडिकल रिपोर्टको आधारमा लाइसेन्स रिन्यु गर्नुपर्नेमा पैसाको आधारमा पद एवं अख्तियारीको व्यापक दुरुपयोग गरेको बुझिएको छ । सवारी साधन दर्ता गरि नामसारी गर्न आउँदा नियमाअनुसार गाडी ल्याई प्राबिधिक परिक्षण गरि दर्ता नामसारी गर्नुपर्नेमा त्यसो नगरी रकम लिएर हचुवाको भरमा प्राबिधिक परिक्षण हुने गरेको समेत खुल्नमा आएको छ ।

यसरी लाईसेन्समा भएको अनियमितता सँगैं यातायात कार्यालय भरतपुरको लेखा शाखामा समेत नक्कली बिलभर्पाईहरु बनाई केही भ्रष्ट कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गर्दै आन्तरिक लेखामा समेत ब्यापक अनियमितता नै अनियमितता गर्ने गरेको खुल्नमा आएको छ । यसरी आफैले गरेको निर्णयलाई समेत लत्याउँदै सेवाग्राही लुट्न यातायात कार्यालय भरतपुर अग्रसर भइरहेको प्रष्ट देखिन्छ ।
यातायात कार्यालयमा सर्बसाधरण दिनहँु लुटिन बिबस छन् । कार्यालयको लाईसेन्स, नविकरण लागायतका फाँटमा व्यापक मात्रमा सर्बसाधरणमाथी अनेक बहानामा लुट्ने र राजस्वमा समेत अनियमितता एवम् व्यापक घोटला भईरहेको खुल्नमा आएको हो ।

यस विषयमा नियामक निकायहरु अख्तियार, प्रदेश एवम् संघीय यातायात मन्त्रालय, विभाग, जिल्ला प्रशासन, स्थानीय सरकारको अनुगमन समितिले तत्काल कार्वाही गर्नुपर्ने देखिन्छ । सम्बन्धीत निकायको बेवास्ताले आम सर्वसाधारण मर्कामा पर्दै जाँदा भ्रष्टहरुको ढालको रुपमा सरकारको सुसाशनको नाराको खिल्ली उडिरहेको आम अनुभूत हुन जान्छ ।
अतः अख्तियार लगायतका कार्यालयले सम्बन्धित निकायले यातायात कार्यालय भरतपुरमा शीघ्र छानबिन गर्नुपर्ने माग बढेर गएको छ ।
आजको भण्डाफोर अभियान साप्ताहिकबाट