चाडपर्वमा महँगी उपहार !

काठमाडौँ/नेपालीहरूको घरदैलोमा मुख्य चाडपर्वहरू प्रवेश गर्ने क्रममा छन् । वर्ष दिनमा आउने यस्ता चाडपर्वलाई नेपालीहरूले छुट्टै महत्वका साथ लिने गर्छन् । विशेष गरी दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा पारिवारिक भेटघाट, मठमन्दिरमा गरिने पूजाआजा मात्र नभई बजारमा वस्तु तथा सेवाको मागमा समेत वृद्धि हुने गरेको देखिन्छ । यसै कारण यस्ता चाडपर्वलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षले मात्र नभई आर्थिक रूपले समेत महत्वपूर्ण मानिन्छ ।

यही महत्वलाई मध्यनजर गर्दै विभिन्न रोजगारदाताले आफ्ना कर्मचारीलाई नियमित प्राप्त गर्ने आम्दानीबाहेक अन्य अतिरिक्त उपहारसमेत दिने परम्परा छ । आफ्ना कर्मचारीलाई रोजगारदाताले उपहारस्वरूप भत्ता, बोनसका रूपमा नगद तथा जिन्सी दिने गर्छन् । यसपटक भने सरकारले समेत चाडपर्वका अवसरमा सम्पूर्ण नागरिकलाई उपहार दिएको छ । त्यो उपहार महँगीका नामले चिनिएको छ ।

नेपालीहरूले आफ्नो संस्कार, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई विशेष महत्व दिने गर्छन् । वर्षभरि आफ्नो घरबाट टाढा रहेका आफन्तजन तथा परिवारका सदस्यहरू दसैँ तिहारजस्ता ठूला चाडपर्वमा आफ्नो जन्मघर फर्कने परम्परा छ । पहिलो गाँसमै ढुंगा भनेजस्तै घर फर्कने सवारी साधनहरूको भाडा अघिल्ला वर्षहरूको तुलनामा महँगो भएको छ । पेट्रोलियम पदार्थको मूल्य दिन–प्रतिदिन बढ्दै गएकाले हवाई तथा बस भाडा समेत बढेको छ । यसैगरी ठूला चाडपर्वहरूमा अन्य समयको तुलनामा लत्ताकपडादेखि खाद्यान्नको माग ज्यादा हुने गर्छ । एकातिर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणहरूले बजार मूल्य बढेको अवस्था छ । अर्कोतर्फ, सरकारको फितलो अनुगमनले गर्दा कालोबजारी मौलाउँदै गएको छ । यसले आमउपभोत्ताहरूलाई गम्भीर असर पुगेको देखिन्छ ।

नेपाली बजारमा पाइने अधिकांश वस्तु आयातित छन् । विशेष गरी खाद्यान्नको आयात छिमेकी मुलुक भारतबाट बढी हुने गर्छ । पछिल्लो समय भारतले गहुँ, चामल, मैदा, चिनीजस्ता खाद्य वस्तुहरूको निर्यातमा कडाइ गर्नुका साथै यस्ता वस्तुहरूमा लाग्ने करका दरसमेत वृद्धि गरेको छ । यसको प्रभाव प्रत्यक्ष रूपमा नेपाली बजारमा परेको छ । यसैगरी चालु आवको बजेटमार्फत नेपाल सरकारले आलु, प्याज, हरियो सागसब्जी, फलफूल, मासुजस्ता वस्तुहरूमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) थप गरेको छ । यसअघि यस्ता कृषिजन्य उपजहरूमा ९ प्रतिशत कृषि सेवाशुल्क र अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर लाग्दै आएको थियो । यो नयाँ कर नीतिसमेत दैनिक उपभोग्य वस्तुहरू महँगो हुनुको एक प्रमुख कारक तत्व बनेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत अगस्टमा मुद्रास्फीतिदर ७.५२ प्रतिशत रहेको जनाएको छ । जबकि जुलाईमा यो दर ७.४४ प्रतिशत थियो । अगस्टमा खाद्य तथा पेय पदार्थ समूह र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर क्रमश ८.९५ र ६.४२ प्रतिशत रहेको जनाइएको छ । तथ्यांकमा उल्लेख भएअनुसार सबैभन्दा बढी मरमसला समूहको उपभोक्ता मूल्यवृद्धि ४५.५६ प्रतिशत रहेको छ । दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा बढी प्रयोग हुने
मरमसलामा भएको अस्वाभाविक मूल्यवृद्धिले सर्वसाधारणको चाडपर्व नै खल्लो बनाउन सक्ने देखिन्छ । यसैगरी खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १२.१९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको मूल्य १०.८० प्रतिशतले बढेको छ । यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गत घरायसी उपयोगका वस्तुको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.७९ प्रतिशतले मूल्यवृद्धि भएको छ । मुलुकका विभिन्न भागलाई तुलना गर्दा काठमाडौं उपत्यकाको महँगी ८.५० प्रतिशत, तराईको ६.७० प्रतिशत, पहाडको ७.५० प्रतिशत र हिमालको ११.४६ प्रतिशत रहेको उल्लेख छ । यो महँगीले अहिले पनि निरन्तरता पाइरहेको अवस्था छ ।

आगामी दिनमा यसले अझ उचाइ छुने आकलन गरिएको छ । सरकारी तथ्यांकमा मूल्यवृद्धिको आँकडा ७ देखि ८ प्रतिशतले मात्र देखिए पनि वास्तविकता भने फरक छ । कारोबार दैनिकमा समाचार छ ।