म्याद गुज्रेको कार्ल्सबर्ग भेटिएपछि भीम स्टोरलाई २ लाख जरिवाना

काठमाडौँ/बियर बिक्रेता भीम स्टोरले ठमेलस्थित गामबेंसी दोहोरी साँझलाई म्याद नाघेको बियर बिक्री गरेको पाइएको छ।दोहोरीमा पुगेका ग्राहकलाई म्याद नाघेको बियर बिक्री गरेको पाइएपछि स्टोरलाई काठमाडौँ महानगरले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार दोहोरी साँझमा पुगेका एक ग्राहकले कार्ल्सबर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारेका थिए।

यसपछि उनले काठमाडौं महानगरलाई उजुरी गरेका थिए। सोमबार महानगरको अनुगमन टोली दोहोरी साँझमा पुगेको थियो।दोहोरी साँझका सञ्चालकले अनुगमन टोलीलाई सधैं आफूले बियर ल्याउने ठमेलकै भीम स्टोरमा पुर्‍याएका थिए।

सोमबार बिहान सो स्टोर्समा म्याद गुज्रेको अन्य बियर फेला परेको थिएन। तर साँझ पनि महानगरको अनुमगन टोलीले स्टोर्समा पुग्यो, ८ वटा म्याद गुज्रेको बियर फेला पार्‍यो। यसपछि महानगरले गुणस्तरमा ध्यान दिन निर्देशन दियो। यसका साथै दोहोरी साँझलाई पनि म्याद गुज्रेका वस्तु बिक्री नगर्न चेतावनी दिएर फर्किएको छ।