असल करदातालाई स्टिकर वितरण गर्दै भरतपुर महानगर

चितवन/भरतपुर महानगरपालिकाले समयमै कर बुझाउने करदातालाई असल करदाता स्टिकर वितरण गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम २९ वटै वडाका असल करदातालाई ३ वटा रङ भएका स्टिकर वितरण गरेको छ ।
व्यवसाय कर तिर्ने करदातालाई हरियो, सम्पत्ति तथा भूमिकरलाई रातो र घर जग्गा तथा बहाल कर तिर्ने करदातालाई निलो स्टिकर वितरण गरेको हो ।

महानगरपालिकाले कानुनी दायित्वको पालना नगरी व्यवसाय संचालन नगर्न, नविकरण गर्न, घरबहाल कर दाखिला गर्न र सम्पत्ति कर बुझाउन सार्वजनिक आह्वान गरेको छ ।असोज २३ गतेसम्म कर बुझाउने करदातालाई विषेश छुट सुविधा उपलब्ध गराइने महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिनुभयो।

कर दाखिला नगर्ने व्यक्ति वा संस्थालाई महानगरपालिकाबाट उपलब्ध सेवा सुविधा कटौती गर्ने महानगरपालिकाले जनाएको छ ।
भरतपुर महानगरपालिकाले राजस्व संकलनलाई आक्रामक रूपमा अघि बढाएको छ ।महानगरपालिकाले कर संकलनका लागि टास्कफोर्समेत बनाउँदै छ । यसले कर संकलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमन समेत गरिने छ ।महानगर प्रमुख रेनु दाहालले चालु आर्थिक वर्षमा राजस्व संकलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिनुभयो ।

विगतका वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै उहाँले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताउनुभयो । महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उहाँको भनाइ छ । महानगरमा सङ्कलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ वटा टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर संकलनलाई अभियानका रूपमा अघि बढाएको उहाँको भनाई छ ।