मन्त्री बस्नेतको कथन: स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्छु

चितवन/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने बताउनुभएको छ । उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालका चिकित्सकसँग पढ्न विदेशी चिकित्सक आउने । नेपालका नेताहरु उपचारका लागि विदेशिने रु” अहिले सरकारले विशिष्ट व्यक्तिको उपचारका लागि विदेश पठाउने नीति बन्द गरेको बताउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको बेथिति नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको छ ।” स्वास्थ्य क्षेत्रमा जनताको आक्रोश रहेकाले सबै मिलेर यसलाई सुधार गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो ।

उपचारको अभावमा कोही नेपाली मर्नु नपर्ने गरी सरकारले काम गरेको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले उपचारका लागि खर्च अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने गरी काम भइरहेको बताउनुभयो । शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भएको भन्दै उहाँले संविधानमा लेखिएको कुरा निःशुल्क गर्दै जाने बताउनुभयो ।