प्रहरीको सेटिङमा तस्करी: सुरक्षाकर्मी तस्करका भरिया, इञ्चार्ज हुन टेण्डर बढाबढ
काठमाडौं/सीमा क्षेत्रबाट तस्करी नियन्त्रण र रोकथामका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका छुट्टनछुट्टै युनिट खडा गरी सीमा क्षेत्रमा खटाएको छ ।
मुलुकको अर्थतन्त्र धराशयी भएको बेला मुलुकको प्रमसख भन्सा नाका रहेको वीरगन्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै युनिटलाई सक्रिय बनाई राजस्व असुलीमा कडाई गर्नुपर्ने अवस्था रहेका बेला तस्करहरुसँगको मिलेमतोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिट प्रमुखहरुले तस्करी गराउँदा राजस्व असुली न्यून बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी हेडक्वाटर १३ नम्बर गणको मिलोमतोमा ड्राईपोट भन्दा पश्चिमका सबै नाकाहरुबाट तस्करी लाइन खुलाएर तस्करीलाई सहजीकरण गरी तस्करहरुबाट अवैध रकम असुलीलाई तीब्र बनाएका छन् ।
प्रहरीले वीरगन्ज क्षेत्रबाट पनि केही तस्करहरुलाई लाइन दिएको भए पनि ठूलो लाइन ग्रामिण इलाकाबाटै सुचारु गर्न दिएको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल शाहको घुमुवाका रुपमा रहेका केही प्रहरी कर्मचारीले तस्करीको लाइन खुलाउन मोटो रकम लिएर एसपी सम्मलाई बुझाएपछि तस्करीले तीब्रता पाएको हो ।
विगतमा नेका सभापति शेरबहादुर देउवाको सुरक्षा गार्ड बसेका शाह शक्ति केन्द्रकै दबाबमा गत माघमा पर्सा सरुवा भएका थिए ।
उनले सुरुमा केही राम्रो गर्न खोजे पनि त्यहाँ हुण्डी व्यवसायीसँग भने घनिष्ट सम्बन्ध स्थापित गरिसकेपछि घुमुवाहरुको सहयोगमा तस्करहरुसँग पनि सम्पर्क बढाई आर्थिक प्रलोभनमा लिप्त बनेका छन् ।
पर्सा प्रहरीले स्थानीय सरोकारवालाहरुलाई झुक्याएर सदरमुकाम आसपासको क्षेत्रमा तस्करी नियन्त्रणमा कडाई गरेको नाटक गर्ने गरे पनि हुण्डी कारोबारीलाई संरक्षण गरेको छ ।
विगतमा त्यहाँ बसेका बेलबहादुर पाण्डेले एक हुण्डी कारोबारीसँग कारोबार गरेको विषयमा अहिले प्रही प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।
पर्साको भिस्वा, बन्जारी, मिर्जापुर, जानकी टोला, अमरपट्टी, प्रसौनी, मैनपुर, सबैठवा, धोरे, ठोरी लगायतको क्षेत्रबाट ठूलो परिणाममा प्रहरीले तस्करीको लाइन खुलाउन जिप्रकाबाटै घुमुवा खटिएको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरी गुल्म सबैठवाका प्रमुख डिएसपी केशवराज ओलियाको मातहतमा भिस्वा मिर्जापुरबाट भैसी, धान, गहुँ, कुखुराका चल्ला, माछा, किराना, काजु, कपडालगायतका अवैध सामानको ठूलो परिणाममा तस्करी भइरहेको प्रहरीहरु नै बताउँछन् ।
धोरे नाका हुँदै रातीको समयमा प्रहरीले ठूलो परिणाममा भैसी र राँगाको तस्करी गराउन सहयोग गरेको स्थानीय बताउँछन् ।
रातीको समयमा गोरेटो बाटो र खेतको बाटो हुँदै भैंसी राँगा भित्र्याउँदा स्थानीयहरुको धानबालीसमेत नष्ट हुने गरेको छ । त्यसैगरी मिर्जापुरबाट धान, गहुँ, भैंसी, किराना सामाग्री र कस्मेटिकलगायतका सामानहरुको ठूलो मात्रामा तस्करी भइरहेको छ ।
तस्करहरुले गहुँ र धानको तस्करी गर्नेहरु बोराभित्र कपडासमेत लुकाएर नेपाल भित्र्याउने गरेका छन् ।
सशस्त्रको बिओपी मिर्जापुर प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र मल्ल र बन्जारी बिओपीका सशस्त्र प्रहरी निरीक्षक विष्णुहरी थापाको कमाण्डमा तस्करी मौलाएको छ भने सशस्त्र प्रहरी गुल्म भिखमपुरको कमाण्डमा भारतीय सीमापारीको बजार भंगहा, इनर्वा, महादेवपट्टी लगायतबाट नेपालमा अवैध तरुपमा मालसमान भित्र्याउन दिए बापत उनीहरुले तस्करहरुसँग मोटो रकम असुल्ने गरेको थाहाँ भएको छ ।
हरेक नाकाबाट सशस्त्र प्रहरीको निगरानीमा हुने तस्करीमा नेपाल प्रहरीलाई पनि भाग आउने गरेको कारण नेपाल प्रहरीका जिल्ला प्रमुखसहितका घुमुवाहरु सहयोगी बनिरहेका छन् ।
तस्करीहरुले डिल गरेको रकम घुमुवामार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीले असुली गरिरहँदा उनीहरुले तस्करलाई दिएको तस्करी लाइनका बारेमा माथिल्लो तहमा जानकारी गराउँदा समेत सुनुवाई नभएको स्थानिय र सरोकारवालाहरुले गुनासो गर्न थालेका छन् ।
सुरक्षाकर्मी तस्करका भरिया
गृह प्रशासन र प्रहरी नेतृत्वले नेपाल प्रहरीलाई चुस्त बनाउने भाषणमा मात्र सीमित देखिएका छन् ।
आर्थिक चलखेल र अनिमियता हुने ठाउँहरुमा बसेको प्रहरी कर्मचारीहरुले आचरण विपरीत अवैध क्रियाकलाप र अवैध कारोबारीहरुसँग रकम असुल गरी भ्रष्टाचार गर्ने गरेका जानकारी प्रहरी नेतृत्व कहाँ पुगेर हो वा थाहा पाएर पनि नेतृत्वले उनीहरु माथि कारबाही नगरेको हो भन्ने प्रश्न आम जनताले उठाउन थालेका छन् ।
सरुवा हुन लागेका जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखलाई तस्करीको लाइन खुलाउन मासिक दररेट बुझाएका व्यापारीहरुको लगानी डुबेको छ ।
बाराको मुसर्वा नाकाबाट तस्करी खुल्ला गर्नका लागि यसअघिका एसपी होविन्द्र बोगटीले जीतेन्द्र यादव, सरोज र हरेन्द्रसहितका व्यापारीलाई मासिक कबोल गरेको रकम बुझेका थिए ।
तर, उनी सरुवा हुनासाथ एसपी सुरेशराज काफ्ले हाजिर भएकै भोलिपल्टदेखि तस्करीको लाइन बन्द भएपछि व्यापारीहरु आक्रोशित हुँदै मासिक रुपमा दिएको रकम फिर्ता मागेपछि सेटिङमा संलग्नहरुबीच तनाव उत्पन्न भएको छ ।
व्यापारीहरुले मुसर्वा नाकाबाट तस्करीको लाइन चलाउन नेपाल प्रहरीका एसपी हुँदै सम्बन्धित युनिट प्रमुख र सशस्त्रका बारा गणका एसपीलाई दुई लाख, प्रहरी र सशस्त्रको घुमुवा टोलीलाई ५०–५० हजार, मुसर्वा चौकीका सई र सशस्त्रको बीओपी इन्चार्जलाई पनि ५० हजारका दरले दिने गरी तस्करीको लाइन चलाउने सेटिङ गरेका थिए ।
यो सबै लाइन खुलाएबापत तस्करहरुबाट संकलन गरी संयोजन गर्ने जिम्मा बारा जिल्ला क्राइम ब्रान्चका वरिष्ठ हवल्दार रविन्द्र यादव र सशस्त्रका घुमुवा रन्जित गुप्तालाई दिइएको थियो ।
एसपी होविन्द्र बोगटीले मासिक दर रेट बुझेर आफ्नो सरुवा दुई दिनमै निक्लने थाहाँ पाएपछि तस्करलाई लाइन दिएका थिए ।
बारामा नयाँ एसपी सुरेशराज काफ्ले हाजिर भएपछि उनी इन्चार्ज भएका ठाउँमा तुलनात्मक रुपमा राम्रै काम गर्ने अधिकृत मानिने भएपछि उनले तस्करी लाइन बन्द गरी चोरी तस्करीलाई नियन्त्रण गर्ने प्रयत्न गर्न थालेको संकेत पाएपछि तस्करहरुले आफूले दिएको रकमको चिन्ता गर्न थालेका छन् ।
उनी बारामा हाजिर भएपछि तस्करीको लाइन खुलाउने मुसर्वाका वरिष्ठ सई बसन्त थापा पनि १५ दिन बिदा लिएर काठमाडौंतिर लागे ।
इलाका प्रहरी कार्यालय गण्डकका प्रहरी निरीक्षक बिनोद बोहराले नयाँ एसपी काफ्लेले प्रहरीको संरक्षणमा तस्करीको लाइन खलेको थाहाँ पाएमा अप्ठेरो पर्ने त्रासले रविन्द्र यादवलाई सामान ल्याउन रोक्ने आदेश दिएका छन् ।
सामान तस्करी गराएमा पक्राउ पर्न सक्ने भनेपछि उनले व्यापारीहरुलाई सामान ल्याउन रोकेका छन् । मासिक दर रेट बुझाएका व्यापारीहरु चार दिनमै सामान बरामद गर्ने भनेपछि लगानी डुबेकोमा रुष्ट भएका छन् ।
एक महिनाको पैसा बुझाइसकेको तर काम चार दिनमै रोकिएपछि निकै आक्रोशित भएका व्यापारीहरु पैसा फिर्ता चाहियो भन्दै हवल्दार रविन्द्र यादवसँग तोकता गर्न थालेका छन् ।
रकम फिर्ता गर्न माग गरेको विषय वर्तमान एसपी काफ्लेको कानमा पनि पुगिसकेको छ । व्यापारीहरुले घुस फिर्ता माग्न थालेपछि निवर्तमान एसपीदेखि मुसर्वाका सईसम्म तनावमा छन् ।
व्यापारीहरु यो विषय नेपाल प्रहरीका डीआईजी जनक भट्टराईदेखि सशस्त्रका दीपेन्द्र शाहसम्मलाई गुनासो गर्ने तहमा पुगिसकेका छन् । बोगटीले बारामा आफू सरुवा भएपछि लाइन जारी राख्न गृहमन्त्रालयमा कार्यरत एसपी सुवास बोहरालाई ल्याउन लागेका थिए ।
उनले त्यसका लागि वरिष्ठ सई सागर राणालाई समेत परिचालन गरेका थिए । तर, आईजीपी बसन्त कुँवरले बोहराको ट्रयाकरेकर्ड हेरेर उनलाई पठाउन नमानेपछि त्यहाँको तस्करी नियन्त्रणका लागि काफ्ले उपयुक्त देखेर उनलाई सरुवा गरिएको स्रोत बताउँछ ।
सशस्त्र प्रहरी १२ नं. गण बाराका एसपी टोपबहादुर डाँगीले सिपाही रन्जित गुप्तालाई घुमुवा राखी असुलीमा खटाएका छन् । उनको दरबन्दी मोरङको सशस्त्रको तीन नम्बर गणमा हो ।
अर्कै प्रदेशमा दरबन्दी भएका यादवलाई तस्करहरुसँग असुलीका लागि घुमुवा राखिएको हो । घुमुवा यादवलाई सशस्त्रको मुख्यालय हल्चोकमा कार्यरत एसएसपी विष्णु भट्टको पनि संरक्षण रहेको बताइन्छ ।
भट्ट गणेश ठाडा मगर मधेश प्रदेशको बाहिनीपति (डीआईजी) हुँदा सहायकका रुपमा कार्यरत थिए । सोही बेलादेखि उनले अर्कै प्रदेशमा दरबन्दी भएका घुमुवा गुप्तालाई लाभ लिएर संरक्षण गर्दै आएका छन् ।
नेपाल प्रहरीका वरिष्ठ हवल्दार यादव बारामा आठ वर्षदेखि कार्यरत छन् । उनी आठ वर्षदेखि एसपीका घुमुवाका रुपमा तस्करहसँग कनेक्सन मिलाउने पात्र हुन् ।
इञ्चार्ज हुन टेण्डर बढाबड
मुलुकको शान्ति सुरक्षा र सीमा क्षेत्रहरुबाट हुने तस्करीलगायतका अवैध कारोबारको निगरानी र नियन्त्रण गर्नु खटिएको सुरक्षा टोलीले आफ्नो काम र कर्तव्य विपरित कारोबारीहरुलाई संरक्षण गरेको भन्दा पत्याउन गाह्रो हुन्छ ।
तर, बाराको छतवाबाट नेपाल प्रहरीको संरक्षण र सेटिङमा खुलेआम तस्करी धन्दा मौलाउँदा त्यहाँका सुरक्षा युनिटमा कार्यरत सुरक्षाकर्मी भने रमिते बनेका छन् ।
प्रहरी सेटिङमा राति मात्रै होइन दिउँसो नै खुलेआम तस्करी भैरहँदा तस्करहरुले सुरक्षाकर्मीलाई आफ्नो घरेलु कामदार सरह हप्कीदप्की गर्दै तस्करी धन्दा सुरक्षित बनाउँदै आएका छन् ।
छतवा नाकाबाट सुरक्षाकर्मीको सेटिङमा तस्करीको लाइन पाउनेहरुमा चन्दन, बासुदेव, भोलाले कपडा, सन्तोषले भैसी, धमेन्द्रले चल्ला, विवेकले सुर्तिजन्य सामान, महादेव, कपिलले माछाको तस्करी गर्दै आएका छन् ।
छतवा चौकी नेपाल प्रहरीको यस्तो चौकी हो जहाँ जिल्ला प्रहरी कार्यालयमा टेण्डर हालेर इन्चार्ज जाने प्रचलन छ ।
त्यहाँ जानका लागि मासिक न्यूनतम एक लाख दिनुपर्ने गरी टेण्डर हुने गरेको प्रहरी भित्र नै चर्चा हुने गर्दछ ।
अहिले छतवा प्रहरी चौकीको प्रमुखमा वरिष्ठ सई श्यामबाबु यादव रहेका छन् । सबैभन्दा बढी यस नाकाबाट भैसी र कपडाको तस्करी हुने गरेको छ ।
भारतीय क्षेत्रमा पर्ने घोडासानबाट स्थानीय र ठूला तस्करहरुले भैसी र कपडाको नेपालतर्फ तस्करी गर्ने गरेका छन् ।
प्रहरीमा त्यहाँ टेण्डर हालेर जोन र गएपछि तस्करी धन्दा गराउने प्रचलन धेरै पहिलेदेखि नै चल्दै आउको भए पनि जिल्ला प्रहरी प्रमुखलाई आर्थिक नजराना चढाएर तस्करीलाई खुल्ला गराए वापत त्यहाँका इन्चार्जलाई अकुत आर्थिक आर्जन गराउने बाटो खुल्ला भएको छ ।
देशका कुनै पनि भन्सार कार्यालयले लक्ष्य अनुरुपको मुख्य कारण भन्सार नाकाहरुबाट सुरक्षाकर्मीको मिलेमतोमा खेलेआम तस्करी मुख्य हो ।
अर्थ मन्त्रालयले बारम्बार नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर चोरी तस्करी नियन्त्रण गर्न निर्देशन पनि दिउको भए पनि स्थानिय सीमा क्षेत्रमा खटिएका आफ्ना कर्मचारीहरुलाई नियन्त्रण गर्न नसक्दा सुरक्षा प्रमुखहरु मथि पनि प्रश्न उठेका छन् ।
दुवै प्रहरी संगठनका महानिरीक्षकहरुले मातहतका प्रदेश प्रमुखदेखि जिल्ला र गण प्रमुखहरुलाई बारम्बार चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिएको भए पनि उनीहरुको निर्देशन पालना नभएको हो कि भन्ने प्रश्न जनमानसले उठाउँदै आएका छन् ।
वरिष्ठ सई श्यामबाबु यादव रौतहटको स्थानिय बासिन्दा भए पनि तस्करहरुलाई तस्करी लाइन दिएर कमाएको अकुत सम्पत्तिले विरगंज बसपार्कमा सुविधाजन्य घर बनाउन सफल भएका गोलमेच साप्ताहिकमा उल्लेख छ ।
उनी यसअघि बाराको पथलैया, परवानीपुर, अमलेखगन्ज, कवही जस्ता अतिरिक्त कमाई हुने चौकी तथा इप्रकामा बसेर तस्कर र अवैध कारोबारीहरुसँग अकुत रकम असुल्नु पोख्त मानिन्छन् ।
यसबाहेक सर्लाहीको सबैभन्दा बढी अतिरिक्त आम्दानी हुने चौकीको रुपमा रहेको त्रिभुवननगर नाकामा पनि उनी बस्न सफल भएका थिए ।
हालका प्रहरी महानिरीक्षक बसन्त कुँवर चितवन जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा सई श्यामबाबु यादव जिल्लाकै सबैभन्दा बढी अतिरिक्त आम्दानी हुने जुगेडी चौकीमा कार्यरत रहँदा पनि उनी माथि निगरानी गरिएको थिएन ।