अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर
काठमाडौं/विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनको सम्पत्ति र वैधानिकरूपमा आर्जन गरेको सम्पत्तिबिचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिना कैद हुने फैसला गरेको छ । त्यस्तै ९८ लाख २५ हजार ५ सय रुपैयाँ बिगो र सोहीबराबर जरिमाना गर्ने फैसलासमेत सुनाएको छ ।
विशेष अदालले उनलाई सार्वजनिक पदमा रहँदा त्यसको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार कैद, बिगो र बिगोबमोजिम जरिमाना गर्ने फैसला गरेको हो । खिलराज रेग्मीको नेतृत्वमा स्वच्छ छविको भनी पर्यटनमन्त्री भएका श्रेष्ठको आर्जन अस्वाभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अख्तियारले श्रेष्ठविरुद्ध २०७८ फागुन १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनीविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनीरूपमा आर्जन गरेको दाबी गरेको थियो । नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ रेग्मी नेतृत्वको सरकारमा मन्त्री भएपछि विवादमा पनि परेका थिए । उनी कर्जाको कालो सूचीमा परेको विवाद सार्वजनिक भएको थियो ।
शिक्षक पदबाट २०२६ सालमा सरकारी सेवा प्रवेश गरेका उनी २०३६ सालमा शाखा अधिकृत भएका थिए । त्यसपछि विभिन्न मितिमा पदोन्नति हुँदै सचिवबाट २०६४ सालमा अनिवार्य अवकाश पाएका थिए । २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा पुनर्निर्माण र खेलकुद मन्त्री भएका थिए । आजको राजधानी दैनिकमा योसमचार प्रकाशित छ ।