क्यान्सर अस्पतालका बेथिती उस्तै, सुधार कहिले हुने ?

चितवन/बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दिनप्रतिदिन बेथिती बढ्दै गएको छ । बिरामीहरुलाई उपचार भन्दा बढी शास्ती दिने प्रवृती बढदा यो अस्पताल बदनाम बन्दै जान थालेको छ ।यहाँ कार्यरत कार्यकारी देखि तल्लो तहको कर्मचारी समेत निजीको मतियार बन्दा अस्पताल बदनाम बन्दै गएको हो ।
अस्पतालले दिनसक्ने सेवाहरु पनि बिभिन्न बहानामा नदिने अनि बिरामीलाई निजीमा जान बाध्य पार्ने प्रवृतीले बर्षौंदेखि जरा गाडेर बसेको कारण आम सेवाग्राही मर्कामा परिरहेका छन् ।
निजीमा बिरामी जाने बाताबरण निर्माणमा लाग्ने कर्मचारीहरुको भने दिनानुदिन आर्थिक हैसियतमा बढोत्तरी भईरहेको छ । अस्पतालमा अहिले नि विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने अवस्था, रेडियो थेरापी (सेकाइ) गराउनुपर्दा पाँच सात महिनासम्म पालो कुर्नु परिरहेको स्वंय बिरामीका आफन्तहरु बताउँछन्।
अस्पतालमा रहेका सिटी, एमआरआइ लगायतको सेवामा केही जनशक्ति अभावका बहाना र भएका मेशिन पनि बिगारी निजीमा पठाउने धन्धा निर्वाद चलिरहेकाले अस्पताल कहिले सुधार हुने हो भन्न सक्ने स्थिती नरहेको एक स्थानियले गुनासो गरे ।
यसैबिच, अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले निजी क्यान्सर अस्पताल उद्घाटनमा गएपछी त्यस्को बिरोधमा युवासंघले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दैं कार्यकारी निर्देशक पौंडेलले आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् ।
डा.पौडेलले राष्ट्रिय युवा संघ चितवनका प्रतिनिधिहरुसँग माफी मागेका हुन् । चितवन मेडिकल कलेजले क्यान्सर उपचारको लागि सुरु गरेको अंकोलोजी विभागको उद्घाटन गर्न गत् आइतबार डा.पौडेल गएका थिए ।
समाचार प्रकाशित भएपछि राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीवाट क्यान्सर कार्यकारी निर्देशक डा. शिवजी पौडेललाई समान उद्देश्य भएको संस्थाको उद्घाटनको लागि गएको भन्दै चेतावनी पत्र बुझाएको थियो । सोही क्रममा उनले आफूले हतारमा निर्णय गरी गल्ती भएको भनी माफी मागेका थिए । युवा संघले सार्वजनिक चासोको रुपमा रहेको देशकै मुटुको रुपमा रहेको बीपी कोइराला मेमारियल क्यान्सर अस्पताल धरासायी बनाउने उद्देश्यले उस्तै प्रकृतिको निजी अस्पताल सीएमसी क्यान्सर ईन्स्टिच्युट उद्घाटन गरेकोमा चेतावनी सहितको पत्र बुझाएको हो ।
संघका चितवन अध्यक्ष झलकराज भट्टको नेतृत्वमा गएको टीमले ध्यानाकर्षण पत्र बुझाउँदै कार्यकारी निर्देशक डा. पौडेल अदृष्य रुपमा चितवन मेडिकल कलेजको क्यान्सर ईन्स्टिच्युटमा लगानिकर्ता रहेको, लाखौँको चलखेलमा कार्यकारी निर्देशक बनेको, मेशिन खरिदमा अनियमितता गरेको लगायतका आरोप लगाउँदै एक हप्ताभित्र राजीनामा गर्न समेत अल्टिमेटम दिएको छ ।