भरतपुर भ्रमण वर्ष तयारीमा : दियालो बंगला खुलाउन मेयर रेनुको पहल
चितवन/भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा आँपटारीस्थित दियालो बंगला खुलाउने प्रयास गरेको छ । नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार थालेको महानगरले दियालो बंगलासँगै ठोरी नाका सञ्चालनमा ल्याउने प्रयास पनि थालेको छ ।
महानगरका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार भ्रमण वर्षमा कम्तीमा २ लाख विदेशी पर्यटक भरतपुर ल्याउने लक्ष्य महानगरको छ । त्यसका लागि वर्षभरी गर्ने क्रियाकलापहरुको क्यालेण्डर नै प्रकाशन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
दियालो बंगला खुलाउन महानगर प्रमुख रेनु दाहाल आफैले पहल गरिरहेकी छन् । महानगरले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत नेपाल ट्रष्ट कार्यालयमा दरवार अवलोकनका लागि खुला गर्न आवश्यक सहयोग गरिदिन भनेर पत्राचार गरिसकेको छ ।
तत्कालीन राजा महेन्द्रले निर्माण गरेको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । राजा महेन्द्रको निधन यही बंगलामा भएको थियो । राजा महेन्द्र बेलाबखत परिवारसहित यही दरवारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए ।