बालकुमारी कलेजद्वारा अनधिकृत रुपमा कब्जा गरिएको भवन महानगरको नियन्त्रणमा !
कलेजका संचालक संगै आउने वडाध्यक्षहरु विरुध प्रतिकारमा उत्रिए वडावासी
चितवन/चितवनको भरतपुर–३ स्थित बालकुमारी कलेजको नर्सिङ अध्ययनर/अध्यापन भइरहेको महानगर मातहतको भवनमा जनदबाबबाट वडा नं. ३ को कार्यालय सारिएपछि बबाल भएको छ । मापदण्डअनुसार नचलेका सामाजिक संघसंस्थालाई मापदण्डभित्र ल्याउने महानगरको प्रयासमाथि केही वडाध्यक्षहरुले भाँजो हाल्ने काम गरेका छन् । बुधबार वडा नं। ३ को कार्यालय उक्त भवनमा सारिएपछि केही वडाध्यक्षले सामाजिक संघसंस्थालाई मापदण्डअनुकूल चलाउने महानगरको कदममा भाँजो हाल्ने प्रयास गरेका हुन् ।
वडा कार्यालय उक्त भवनमा सार्न वडा नं। ३ का जनताको व्यापक दवाव भएपछि त्यहाँ कार्यालय सारिएको वडा नं। ३ का वडाध्यक्ष विकास थापाले बताए । राजनीतिभन्दा माथि देश छ भन्ने भावनाबाट चल्नुपर्नेमा महानगरको विसुद्ध कार्यमा पनि राजनीति गरिएको उनको भनाइ थियो । जनताको निर्णय सर्वोपरि हुने भन्दै उनले जनताले चाहेको हुनाले कार्यालय सारिएको बताए ।
वडा नं। १ का वडाध्यक्ष केशव महर्जनले कार्यपालिकामा निर्णय नगरिएको र महानगरको लिखित आदेश पनि नभएको हुँदा वडा कार्यालय सार्ने काम कानुनसम्मत नभएको दाबी गरे । उनले बालकुमारी कलेजमा अझै केही महिना नर्सिङको पढाइ बाँकी रहेकोले पढाइ पूरा गर्न दिन अनुरोध गरिएको तर अहिले एक्कासी वडा कार्यालय सार्ने काम भएकोले त्यसप्रति आपत्ति जनाए ।
त्यसैगरी वडा नं। १० का वडाध्यक्ष परमेश्वर खनालले रेडक्रस, रेयूकाई, उद्योग वाणिज्य संघलगायतका संस्थालाई व्यवस्था गरेर मात्र मापदण्डभित्र ल्याइनु पर्नेमा कार्यपालिकामा निर्णय नगरी एक्कासी वडा कार्यालय सार्ने काम गतल भएको बताए ।
तर, वडा कार्यालय सार्ने क्रममा उपस्थित रहेका जनताले वडा कार्यालय सार्ने कामको प्रशंसा गरेका छन् । उपस्थित अधिकांशले बालकुमारी कलेजको ब्यानर छोपेर लायन्स क्लबको ब्यानर राखिएकोमा आपत्ति प्रकट गर्दै महानगरको मापदण्डअनुरुप संस्था अनुगमन गर्ने कार्यमा वडाध्यक्षहरुले विरोध गरेको तर बालकुमारी कलेजको ब्यानर छोपेर लायन्स क्लबको ब्यानर राखिँदा वडा कार्यालय सार्ने कदमको विरोध गर्ने वडाध्यक्षहरुले केही नभनेको भन्दै आक्रोशित भएका थिए ।
स्मरण रहोस् बालकुमारी कलेजको नसिङ संकाय यसवर्षदेखि बन्द भएको छ । उक्त स्थानबाट हट्न समय दिइएता पनि बालकुमारी कलेज त्यहाँबाट नहटेपछि आजबाटै वडाका सम्पूर्ण काम सोही भवनबाट हुने वडा नं। ३ वडाध्यक्ष विकास थापाले बताए । नसिङ संकायका नाममा बालकुमारी कलेजले त्यहाँ अवैधरुपमा प्रसुति गृह सञ्चालन गरेको आरोप लाग्दै आएको थियो । वडा नं। ३ का सम्पूर्ण जनताको दबाबका कारण वडा कार्यालय त्यहाँ सारिएको हो ।