यातायात कार्यलय भरतपुर बिचौलिया(दलाल) हरुको कब्जामा
लाईसेन्स नवीकरणमा समेत ३ देखि ५ हजार असुली अनुगमन नहुदा सर्बसाधरण मर्कामा
सुर्य बराल/यातायात कार्यलय भरतपुर बिचौंलिया(दलाल)हरुको कब्जामा परेको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरुलाई दलालहरुले नजादिदो पाराले लुटपाट मच्चाईरहेको भएपनि कार्यालयका कर्मचारीहरु तैं चुप मै चुप भैं मुकर्दशक बसिरहेका छन् । कार्यालयको लाईसेन्स फाँटमा व्यापक मात्रमा अनियमितता भएको हो ।
यातायात कार्यालय भरतपुर अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई यो हुदैंन त्यो हुँदैन भन्दै फर्काउदै दुख दिने कार्य गरेको एक सेवाग्राहीले दुखेसो पोखे । ति पिडीत सेवाग्राहीले दिएको जानकारी अनुसार सेवाग्राहीले लाईसेन्स रिन्यु(नबिकरण) गर्न जादा स्मार्ट कार्डमा डिएलमा देखिएको तर ईडियलमा लिस्टमा नाम नदेखिएछि मिल्दैन भन्दै फर्काउने तर यातायात कार्यलय आसपास रहेका दलाल मार्फत लाग्ने राजस्व दस्तुर बाहेक ३ देखि ५ हजारसम्म असुली गरी केही अगाडीसम्म मिल्दैंन भनेको त्यहि काम हुने गरेको छ। त्यस्तै, सेवा छैन÷ढडामा देखिएन÷सिस्टमले देखाएन भनी डाटा ईण्ट्रीमा कार्यारत केही भ्रष्ट कर्मचारीहरुले बदनियतपुर्बक आम सर्बसाधर्णलाई दुःख दिने तर दलाल मार्फत रकम लिई त्यहि काम हुने गरेको पिडीतले गुनासो गरे ।
त्यस्तै अर्का पिडीतका अनुसार बायोमेटीक गर्न आउँदा समेत अनावश्यक रकम असुलीरहेका छन् । लाईसेन्स अनलाइनको फारम भरीसकेपछी सेवा ग्राहि बायोमेटिक गर्न यातायात कार्यालयमा आउँदा बिहान ६ बजेबाट लाईन बसी दुःख पाएकालाई÷गेट बाहिर रहेका दलालहरुले ३५० देखि फारामको ५०० सम्म टास्नै नपर्ने टिकट टास्न लगाई असुली गर्ने गरेको उनले दुखेसो गरे । साथै पैसा दिएपछि हचुवाको भरमा बायोमेटीक हुने गरेको पनि उनले जानकारी दिए ।
टेण्डर खुलाई निशुल्क वा कम शुल्क लिएर मेडिकल गर्नुपर्ने वा सरकारी अस्पताललाई जिम्मा दिनुपर्नेमा यातायात कार्यालय भरतपुरमा दलाल मार्फत ३५० देखि मेडिकल फारामको ५०० असुली भैरहेको स्वंय भुक्तभोगीहरु बताउछन् ।
नवीकरण गरि आएको लाईसेन्समा समेत १ घण्टामात्र वितरण गर्ने भनी सेवाग्राहीलाई लुट्ने काम भैरहेको छ । सेवाग्राहीलाई अफिस समयमा लाईसेन्स बाड्नु पर्नेमा कर्मचारीको अभाव भन्दै सिमित समय तोकि दलाल लगाई अबैध असुली गर्ने गरेको खुल्नमा आएको छ ।
त्यस्तै यातायात कार्यालय भरतपुरका कर्मचारीले बिदेशमा रहेकाहरूको लाईसेन्स रिन्यु गर्न आउँदा शुरुमा हुन्न भन्ने पछि दलाल मार्फत लाईसेन्स फाटँबाट लाग्ने राजस्व दस्तुर बाहेक रु १० देखि ३० हजारसम्म घुस लिई नवीकरण हुने गरेको जानकारीमा आएको छ । जबकि कानुनमा सम्बन्धित मानिस स्वयं उपस्थित भै मेडिकल रिपोर्टको आधारमा लाइसेन्स रिन्यु गर्नुपर्नेमा पैसाको आधारमा पद एवं अख्तियारीको व्यापक दुरुपयोग गरेको बुझिएको छ ।
सवारी साधन दर्ता गरि नामसारी गर्न आउँदा नियमाअनुसार गाडी ल्याई प्राबिधिक परिक्षण गरि दर्ता नामसारी गर्नुपर्नेमा त्यसो नगरी रकम लिएर हचुवाको भरमा प्राबिधिक परिक्षण हुने गरेको खुल्नमा आएको छ ।
त्यस्तै, कुनै गाडी अन्य कार्यलयबाट सहमति लिएर आउँदा सबै कागजात पुगेको अवस्थामा समेत रकम लिनलाई अनेक बहानाबाजि गर्ने र दलाल मार्फत् फाईल लिनेदिने बाताबरण बनाई असुली धन्धा भैरहेका बुझिएको छ ।
निजि सवारीको कर तिर्न आउँदा समेत सेवाग्राहीलाई गेट बाहिर बिमा कार्यलयको आसपासमै बसी , अनावश्यक निवेदन, फोटोकपीमा कालोबजारी गर्ने र कार्यलयका सम्बन्धित कर्मचारी भएको ठाउँमा जान रोकी हातै समाई आफै मिलाई दिन्छु भन्दै दलालहरुले दबाब र असुली गरिरहेको सहजै देख्न सकिन्छ ।
यसैबिच, चितवनको भरतपुरमा रहेको यातायात कार्यालयमा अव्यवस्थित र अनियमिता भएको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर १० को सुझाव पेटीकामा यातायात कार्यालयमा सेवाग्राहीहरुले अव्यवस्थित पार्किङ, लाइसेन्स फर्म र मेडिकल जाँचमा चर्को शुल्क लिने गरेको सम्मका गुनासा गरेका छन् ।
वडाध्यक्ष परमेश्वर खनालले केही दिन अघि यातायात कार्यालय भरतपुरलाई पत्र नै काटेर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
सेवाग्राहीहरुले मेडिकल जाँच गरेको शुल्क ३ सय ५० रुपैयाँ लिएको गुनासो आएकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको खनालले बताए ।
कार्यालयमा आउने सेवाग्राहीहरुको मर्कालाई ख्याल गर्दै सेवालाई छिटो छरितो बनाउँन अध्यक्ष खनालले लेखेको पत्रमा उल्लेख छ । विल बुक, लाइसेन्स नविकरण तथा लाइसेन्स,नबिकरण, मेडिकल फर्ममा चर्को शुल्क लिएको गुनासो भएकोले राज्यले तोकेको शुल्कभन्दा बढी शुल्क नलिन निर्देशन दिईएको थियो ।
वडाअध्यक्ष खनालको निर्देशनपछि पनि यातायात कार्यलयभरतपुरमा कुनै सुधार नआएको स्वंय सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यालयमा प्रमुख नभएकोले पनि झन् दलालहरुको बिबिगी र ब्यापक अनियमितता बढेको बुझनमा आएको छ । यसरी यातायात ब्यबस्था कार्यलय भरतपुरको हाकीमहरुको कुर्चि आसपासदेखि बाहिर गेट आसपास सम्म दलालीको बिगबिगी बढीरहेको देखिन्छ ।
यति मात्र होईन यातायात कार्यालय भरतपुर चितवनमा केही भ्रष्ट कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गर्दै आन्तरिक लेखामा समेत ब्यापक अनियमितता नै अनियमितता गर्ने गरेकोले भरतपुर महानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, अख्तियार लगाएतका कार्यालयले छानबिन गर्नुपर्ने माग बढेर गएको छ । आजको भण्डाफोर अभियान साप्ताहिकबाट