अबैध रुपमा बिदेश पठाउने धन्धामा कन्सलटेन्सी !
चितवन/चितवनका केही (शैक्षिक परामर्श केन्द्र)कन्सल्टेन्सीहरु अबैध रुपमा बिदेश पठाई ठगी धन्धामा लिप्त रहेको खुल्नमा आएको छ ।
शैक्षिक परामर्श केन्द्रको रुपमा दर्ता भई परामर्श मात्र दिन पाउने त्यस्ता कन्सल्टेन्सीहरुले परामर्श भन्दा पनि युवा बिधार्थीहरु सहित विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी अवैध तरिकाले ७ देखि १२ लाख सम्म लिई अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टालगायतका देशहरुमा पठाई अलपत्रसमेत पार्ने गरेको बुझ्नमा आएको हो ।
शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट बिना इजाजत वैदैशिक रोजगार व्यवसाय संचालन गरी एजेन्टहरु मार्फत वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याई निजहरुले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजातहरुसमेत आफैं तयार पारी अबैध रुपमा बिदेश पठाउने गरेको खुल्नमा आएको छ ।
यसरी शैक्षिक परामर्श केन्द्र खोली विभिन्न मुलुकहरुमा रोजगारीको लागि पठाई अलपत्रमा समेत पार्ने काममा बिगतमा काठमाण्डौंका केही शैक्षिक परामर्श केन्द्र( कन्सल्टेन्सीहरु) लागी परेकोमा अहिले चितवनका समेत केही कन्सल्टेन्सीहरु लागीरहेको बुझिएको हो ।
यस्तै शैक्षिक परामर्शको नाममा मेनपावरको काम गर्ने नामुद शैक्षिक परामर्श केन्द्रलाई राजधानी काठमाण्डौंमा प्रहरी अपराध अनुसन्धान महाशाखाबाट केही समयअघि पक्राउ गरी कार्बाही गरेको भएपनि चितवनमा यस्तो अबैध धन्धा गर्नेहरु खुलमखुल्ला आफ्नो पसल चलाईरहेका छन् ।
यस्ता अबैध धन्धामा सम्लग्नहरुलाई कार्बाही गर्न प्रहरी, प्रशासन लगाएतले जिल्लामा अनुगमनलाई तिब्रता दिनुपर्नेमा सरोकारवालाहरुको जोड छ ।