सेटिङ्गमा अबैध धन्दा: सशस्त्रमा घुमुवा राखेर असुली

काठमाडौं/१२ साउन/सीमा नाकाहरुबाट अवैध तस्करी र अवैध कारोबार नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको बिओपीका कर्मचारीहरुले तस्कर र अवैध कारोबारीहरुसँग मिलेमतो गरी सेटिङमा तस्करीका सामान ओसार पसारको मार्ग खुल्ला गर्ने गरेको समाचार र तथ्य बाहिर आए पनि सशस्त्र मुख्यालयले खासै चासो राखेको पाइँदैन ।

बारा जिल्लाको सीमा नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएको भन्दै मुख्यालय हलचोकमा उजुरी परेको छ ।

१२ नम्बर गण बाराका एसपी टोपबहादुर डाँगीको संलग्नतामा तस्करी बढेको उजुरीमा उल्लेख भए पनि उनीमाथि निगरानी र कारबाही हुन नसकेको बताइन्छ ।

उनले तस्करी गराउनकै लागि सहायक हवल्दार लोकनाथ पाठक र रञ्जित गुप्तालाई लामो समयदेखि घुमुवा खटाएका छन् ।

सशस्त्र प्रहरीमा गोप्य सूचना संकलनका नाममा घुमुवा राख्न नपाइने नियम तोडेर एसपी डाँगीले आफू निकटका तस्करहरुसँग रकम उठाउन सक्ने व्यक्तिलाई घुमुवाको रुपमा परिचालन गरेका छन् ।

यस विषयमा मुख्यालयमा उजुरी परे पनि त्यहाँको अनुगमन तथा गुनासो व्यवस्थापन छानबिन नगरी मिलाउने प्रयास माथिल्लो तहबाट गरिएको गुनासो सतहमा आएको छ ।

यसको अर्थ तस्करसँग एसपी डाँडीले असुली गरेको अवैध रकम माथिल्लो तहसम्म पुग्छ भन्ने अनुमान गर्न थालिएको छ । आफूलाई तालिममा अब्बल ठान्ने एसपी डाँगी फिल्डमा कमजोर देखिएका छन् ।

उनको कमाण्ड कमजोर मात्र होइन असफल भएकोले बाहिनीपतिलाई गुमराहमा राखेर नीति विपरीत घुमुवा खटाई रकम असुलेर तस्करीको लाइन खुल्ला गर्नुले प्रष्ट पारेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न मुख्यालय पुगेर दिएको निर्देशन एसपी डाँडीले धोती लगाइ दिएका छन् ।

तस्करीमा संलग्न हुने जो कोहीलाई पनि कारबाही गर्न दिएको गृहमन्त्रीको निर्देशनलाई न त मुख्यालयका उच्च नेतृत्वले ध्यान दिएको छ, न त तल्ला युनिट प्रमुखहरुले मन्त्रीको निर्देशन सुनेका नै छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अघि सारेको नीति विपरीत बारामा घुमुवा परिचालन गरेर रकम उठाउने, रकम लिएर तस्करी गर्न लाइन दिने काम एसपी डाँगीले गरेका छन् ।

सशस्त्र प्रहरी बल मुख्यालयले सरुवा गरेर कोशी प्रदेश ३७ नम्बर गणमा दरबन्दी भएका सिपाही गुप्तालाई एसपी डाँगीले मुख्य घुमुवाको रुपमा परिचालन गरेका छन् ।

प्रदेश नै फुरक रहेको र सरुवा भएर दरबन्दी नै कोशी प्रदेश रहेको सिपाहीलाई दरबन्दीमा रमाना नगरी एसपी डाँगीले घुमुवाको रुपमा परिचालन गरेका गुप्तालाई कारबाही गर्ने कि रवाना नदिने एसपीलाई कारबाही गर्ने भन्ने प्रश्न सतहमा आएको छ ।

गुप्ता यसअगाडि पनि पर्साको वीरगंजमा भन्सारको बिओपीमा घुमुवा थिए । घुमुवा हुँदा आर्थिक रुपमा धेरै बद्नाम भए पनि तत्कालीन डिआईजी चन्द्रप्रकाश गौतमले बाहिनीमा तानेका थिए । पछि उनको सरुवा कोशी प्रदेशको ३७ नम्बर गणमा भएको थियो ।

तर, गौतमको सरुवा भए लगत्तै आएका गणेश ठाडा मगरले उनलाई दरबन्दीमा पठाउनुको साटो बारा पठाए । त्यतिबेला बाहिनीका घुमुवाहरुको संरक्षणमा सिपाही गुप्ता फेरि बिओपी मटिरअर्वाको घुमवा बनाइएका थिए ।

त्यसपछि उनी बिओपी बरेनियाको घुमुवा भए । बेरेनियामा कार्यरत रहँदा आर्थिक लेनदेनमा धेरै विवादमा परेपछि यिनै एसपी डाँगीले गणमा तानेर राखे पनि तस्करहरुसँग लाइन मिलाउन सक्ने चतुर देखेपछि उनलाई पुनः घुमुवाका रुपमा खटाएका हुन् ।

यिनै घुमुवाको केही दिन अघि भारतबाट चोरी पैठारी गरी कुखुराको चल्ला ल्याउने तस्करसँग झडप हुँदा औलामा चोट लागे पनि राती राती गणबाट बाहिर निस्केर तस्करदेखि कारोबारी भेट्ने काम उनले रोकेका छैनन् ।

त्यसवापत मोटो रकम असुल गरी एसपी डाँगीलाई भेटी चढाउनु उनको दैनिक कर्तव्य हो । केही दिन अघि मात्र बाराको चर्चित तस्करको रुपमा चिनिने कपडा कारोबारी भोला मियाँसँग एसपी डाँगीका घुमुवा गुप्ताले गणमा लगेर एसपी डाँगीलाई भेटाउने काम पनि गरे ।

त्यसबेला तस्कर मियाँले डाँगीलाई डेढ लाख रुपैयाँ घुस दिएको बताइन्छ । तस्करी गर्ने भनेर डेढ लाख घुस दिएको कुरा मियाँले बाराका सबै कारोबारीलाई भने पनि बरेनिया र पिपरपातीका सशस्त्रका निरीक्षक तथा डिएसपीले छुट्टै रकम माग्न थालेपछि उनको तस्करी धन्दा नै रोकिएको छ ।

यसबाहेक अर्का एक सहायक हवल्दार लोकनाथ पाठकलाई पनि एसपी डाँगीले त्यसरी नै संरक्षण गरेका छन् । हाल काभ्रे गणमा कार्यरत डिएसपी राजेश फूंयाल सशस्त्र प्रहरी निरक्षक हुँदा बिओपी बरेनियाको प्रमुख भएका बेला पाठकलाई घुमुवा राखेका थिए ।

त्यसबेला देखि नै फुँयालको संरक्षणमा पाठक हाकिमदेखि सशस्त्र मुख्यालयमा रिपोर्टिङ गर्दा ड्राइभर भनेर भन्ने गरिन्छ तर उनी सुरु देखि नै घुमुवा मात्रै होइन कि आर्थिक कारोबारमा संलग्न रहँदै आएका प्रहरी हुन् ।

लामो समयदेखि बाराका विभिन्न युनिटहरुमा कार्यरत पाठकले तस्करीदेखि व्यापारी सबै चिन्ने भएको कारण र सबै कारोबारीहरु जीतपुर र पथंलैयामा नै भेटिने भएका कारण एसपीको नाम लिँदै उनीहरुसँग सोही स्थानहरुमा अवैध रकम कारोबार गर्ने गरेका छन् ।

आर्थिक लेनदेनमा धेरै नाम जोडिएपछि सशस्त्रका मधेस प्रदेश प्रमुख डिआइजी दिपेन्द्र शाहले राजश्व पथलैयाबाट तानेर १२ नम्बर गणमा राख्न लगाएका छन् । तस्करसँग लेनदेनको अडियो बाहिनीसम्म पुगेपछि शाहले उनलाई सरुवा गर्न गाएका हुन् ।

उनलाई डीआईजी शाहले सरुवा गर्न लगाए पनि एसपी डाँगीले भने आफूसँगै राखेर रकम असुलीमा खटाएका छन् । डाँगीसँग पाठकको सेतुको काम डिएसपी राजेश फुँयालले गरेका हुन् । केही समय अगाडि भारतबाट ठूलो परिमाणमा कुुखुरा नेपाल भित्रिएको थियो ।

पिपरपाती स्थित सशस्त्रको प्रस्तावित गुल्मको सेटिङ र संरक्षणमा उक्त कुखुरा भित्रिएको बताइन्छ । सो गुल्मले बिगु र महेश भन्नेलाई कुखुराको तस्करीको लाइन दिएको खुलासा भएको छ । उक्त कुखुरा ल्याएपछि सीमा नजिकै फर्जी बिल बनाएर कुखुरा बिक्री गरेको खबर एसपी डाँगीलाई दिइएको थियो ।

एसपी डाँगीले पिपरपातीका डिएसपी हरि शर्मा बिदामा गए पनि निरीक्षक दिनेश बाँनियालाई निरक्षण गर्न आदेश दिए तर गएको सशस्त्र प्रहरीको टोलीले बिक्री वितरणमा रोक लगाए पनि कुखुरा पक्राउ गरेन । त्यसबापत सीमा क्षेत्रका सशस्त्र कर्मचारीमार्फत एसपी डाँगीले मोटो रकम असुल गरेको बताइएको छ ।

कुखुराको तस्करी पिपरपाती नजिकैको बालुवा नाकाबाट हुँदै आएको छ । अहिले बाराबाट सशस्त्र प्रहरीको तर्फबाट तस्करीको लाइन पाउनेमा भोला, दीपक, शनि यादव, माष्टर, मौलाद्दीन, जयगुरुदेव नामक तस्करहरुले तस्करीको लाइन पाए बापत मासिक एक लाखको दरले रकम एसपी डाँगीलाई दिने गरेपछि तस्करीको लाइन खुल्लखुल्ला गरिएको सशस्त्र स्रोतले बताएको छ। गोलमेच साप्ताहिकबाट ।