१ अर्ब बढी पर्ने तस्करीको सुन व्यवसायी दीपक मलहोत्राको रहेको दाबी!
काठमाडाैं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ।
मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ, तर अनुसन्धान जारी रहेकाले उनीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् ।
मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित तीनजना पनि पक्राउ परेका छन् । सुनको यकिन परिमाण आइनसके पनि (जोख्न बाँकी) करिब सय केजीहाराहारीमा रहेको अनुसन्धान विभागका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । यसअघि एकैपटक ८८ केजीसम्म बरामद भएको थियो ।
विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेका हुन् । रामकुमार दिलीपका मामा हुन् । ‘मैले मामाले भनेअनुसार सो सामान पास गराएको हुँ,’ उनले बयानमा भनेका छन् । मामा–भान्जा बुधबार पक्राउ परेका हुन् भने अन्य दुई मंगलबार नै पक्राउ परेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।