भरतपुरको नीति तथा कार्यक्रम पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने

चितवन/भरतपुर महानगरपालिकाले माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
महनगरपालिका प्रमुख रेनु दाहालले तेह्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षालाई उत्पादनसँग जोड्दै श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न “श्रमको सम्मान, राष्ट्रको स्वाभिमान“ भन्ने नाराका साथ पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
माध्यमिक तहमा प्राविधिक शिक्षाको विस्तारका लागि विद्यार्थी सङ्ख्या उच्च भएका सामुदायिक र संस्थागत विद्यालयलाई कक्षा ९–१२ मा प्राविधिक धार सञ्चालनका लागि प्रोत्साहन गर्ने जनाईएको छ ।
महानगरको स्रोतबाट अति सिमान्तकृत र लोपोन्मुख समूहका विद्यार्थीलाई प्रदान गरिँदै आएको महानगर छात्रवृत्ति आगामी वर्षबाट दलित विद्यार्थीहरूलाई समेत थप गरी प्रदान गरिने छ ।संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृत्तिलाई व्यवस्थित र पारदर्शी बनाउने कार्यलाई निरन्तरता दिइनेछ।
सबै विद्यालयमा गुणस्तरीय शिक्षण–सिकाइको वातावरण निर्माण गर्न व्यवस्थापन गरिएका इन्टरनेट, कम्प्युटर र विषयगत शैक्षिक सामग्री लगायत उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोगमा जोड दिइनेछ। समयसापेक्ष सूचना प्रविधिमा आधारित सिकाइका लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई क्ष्ऋत् तालिम प्रदान गरी क्षमता विकास गरिनेछ।
शैक्षिक गुणस्तर अभिवृद्धिका मापदण्ड निर्धारण गरी एक वडा एक नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिइनेछ। शिक्षालाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्न “मेयर डिजिटल शिक्षा” कार्यक्रमलाई एक वडा एक नमुना विद्यालय कार्यक्रमसँग आबद्ध गरी कार्यान्वयनमा ल्याइनेछ। त्यसका लागि पहिलो वर्ष ३ वटा विद्यालयमा स्मार्ट कक्षाकोठा सञ्चालनको पाइलटिङ गरी क्रमशः सबै सामुदायिक विद्यालयमा विस्तार गरिनेछ ।
हाम्रो मौलिक सभ्यता, साँस्कृतिक मूल्य मान्यता र श्रमको सम्मान जस्ता विषयमा शिक्षालाई व्यवहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन “मौलिक र व्यवहारिक शुक्रबार“ अभियान कार्यान्वयनमा ल्याइनेछ।उक्त दिन पाठ्यपुस्तक रहित सिकाइका क्रियाकलापहरू जस्तै, स्थानीय पाठ्यक्रमका क्रियाकलाप, महानगरको शैक्षिक क्यालेन्डरमा समाविष्ट अतिरिक्त क्रियाकलाप, खेलकुद, संगीतका क्रियाकलापहरू, नैतिक शिक्षा, मनोपरामर्श, योग र प्राकृतिक चिकित्साको अभ्यास गराउनुका साथै महिनाको एउटा शुक्रबार सरसफाइ, वृक्षारोपण जस्ता सामाजिक सेवामा संलग्न गराउने व्यवस्था मिलाइनेछ। महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइनेछ।
–––––––––––