‘चीनसँग नेपालको कुनै विवाद छैन’

काठमाडौँ/उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा सोमबार भएको भेटवार्तामा चीन–नेपालबीच ऐतिहासिक सम्बन्धबारे कुराकानी भएको थियो ।

भेटवार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले चीनसँग नेपालको कुनै विवाद नरहेको प्रसङ्ग उल्लेख गर्दै नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि समेत सम्बन्धित निकायसँग आग्रह गर्ने उल्लेख गर्दै दुई देशको सीमा जोडिएका जिल्लामा समकक्षी बैठक निरन्तर हुनुपर्ने बताउनुभयो ।

उहाँले दुई देशको अन्तर्राष्ट्रिय सीमामा कार्यरत दुई देशका पदाधिकारीको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने बताउनुभयो । सीमा क्षेत्रमा रहेका प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई ‘पास’ प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका बासिन्दाको दैनिक जीवन सहज बनाएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गर्नुभयो ।

नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहने प्रतिबद्धता
तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्ण रूपमा सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै उहाँले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन राजदूत सङलाई आग्रह गर्नुभयो । बझाङको साइपल, दार्चुलाको तिन्कर, गोरखाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न पनि उहाँको आग्रह गर्नुभयो ।

जवाफमा चिनियाँ राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्‍वास दिलाउनुभयो । सीमा क्षेत्रका पदाधिकारीको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उहाँको भनाइ थियो ।

राजदूत सङले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिँदै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको बताउनुभयो ।

नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राजदूत सङले यसको निरन्तरताको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका व्रmममा भएको पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनमा आवश्यक समन्वय गरिदिन सङले आग्रह गर्नुभयो । चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१ वटा ड्रोन छिट्टै नेपाललाई हस्तान्तरण गर्नेसमेत उहाँले बताउनुभयो । गोरखापत्रबाट