व्यवसायी कँडेल मृत्यु प्रकरणः प्रहरी कार्यालय घेराउमा कांग्रेस
चितवन/ चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै चितवन कांग्रेसले आज जिल्ला प्रहरी कार्यालय घेराउ गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेको भन्दै कांग्रेसले जिप्रका घेराउ गरिरहेको हो ।
मंगलबार साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको साथबाट प्रहरीले आठ पेज लामो सुसाइड नोट फेला पारेको थियो । एक जना आरोपित जिल्ला भित्रै हुँदा पनि प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय घेराउ गरेको काँग्रेसका पुर्ब जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए। बिहान साढे ११ बजेबाट शुरु भएको प्रहरी कार्यालय घेराउ गर्ने कार्यक्रम पानीले केही बिथोलेपनि अहिले भईरहेको श्रेष्ठले जानकारी दिए । कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए ।
किटानी जाहेरीमा नाम भएका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावलविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको चितवन प्रहरी प्रमुख एवम् एसपी रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुलाई पक्राउ गर्न चितवन प्रहरीले सिआईबी, अपराध महाशाखा लगायत सबै निकायमा सर्कुलर जारी गरिसकेको उनले बताए ।