महानगरको प्राथामिकता रोजगारी: मेयर दाहाल
चितवन/भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अहिलेको पहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताएकी छन् । भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाइकटाइ तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रममा प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गरिन् ।
भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक कार्यक्रम अगाडि बढाइरहेको प्रमुख दाहालले बताइन् ।वडाबाट दैनिकरुपमा ठूलो संख्यामा विदेश जानका लागि सिफारिस लिन आउने पीडादायी अवस्था रहेकाले यसको अन्त्य गर्न महानगरपालिकाले यस वर्ष दुई हजार जनालाई निःशुल्क तालिम दिन लागेको जानकारी दिइन् ।
मागको आधारमा हुने तालिमको लागि एक हजार २०० जनाको आवेदन परेको र तालिम दिने अन्तिम तयारी भइरहेको उनको भनाइ थियो ।मेयर दाहालले भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल तथा विभिन्न ठूला अस्पताल निर्माण हुँदा हजारौको संख्यामा रोजगारी सिर्जना हुने बताइन् ।
ठूला ठूला परियोजना सम्पन्न भएसँगै दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले अहिलेबाट मागको आधारमा सबैखाले तालिम दिइरहेको प्रमुख दाहालले दाबी गरिन् । भरतपुर महानगरपालिका–१५ ले २७ वटा टोल विकास संस्थाबाट तीन जनाको दरले छनोट गरी सिलाइ र ड्राईभिङको तालिम दिइएको थियो भने सिलाइकटाइ मेशिन पनि हस्तान्तरण गरिएको थियो ।
भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटाले हस्तान्तरण भएको सिलाइ मेशिनमार्फत् थप रोजगारी सिर्जना गर्न प्रशिक्षार्थीलाई आग्रह गरिन् । सिप सिके कुनै पनि ठाउँमा राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो ।